एकीकृत समाजवादीका कारण डोल्पामा एमालेलाई कठिन

एकीकृत समाजवादीका कारण डोल्पामा एमालेलाई कठिन


काठमाण्डु – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दुई नगरपालिकासहित आठ स्थानीय तह छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि डोल्पामा दलहरूले उम्मेदवारी दर्ता गराएर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

०७४ मा एमालेले दुई नगरपालिकासहित तीन, स्वतन्त्रले तीन र माओवादीले दुई पालिका जितेका थिए । एमालेले ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिका जितेको थियो । ठूलीभेरीको उपप्रमुख र काइके गाउँपालिका उपाध्यक्ष राप्रपाले जितेको थियो ।

ठूलीभेरी प्रमुखमा एमालेका उम्मेदवारले १ हजार ४ सय ८३ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवारले १ हजार ३ सय ६२ मत ल्याएका थिए । उपप्रमुख जितेका राप्रपा उम्मेदवारले १ हजार ३ सय २४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १ हजार १ सय ८४ मत ल्याएर पराजित भएका थिए । काइके पालिकामा कांग्रेसका उम्मेदवारले ८० मत ल्याएका थिए ।

विगतमा जस्तै यसपटक पनि एमाले र राप्रपाबीच तालमेल भए कांग्रेस वा गठबन्धनलाई चुनौती देखिन्छ । यसबाहेक एमालेले त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलबीच तालमेल प्रभावकारी भए एमालेका लागि चुनौती बन्ने देखिन्छ ।

छार्का ताङसोङ गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका थिए भने उपाध्यक्ष एमालेले जितेको थियो । अध्यक्ष र उपाध्यक्षका लागि एमाले र स्वतन्त्र मात्रै प्रतिस्पर्धामा थिए । स्वतन्त्रले ३ सय ७ मत ल्याएका थिए भने एमालेका उम्मेदवार २ सय ८२ मत ल्याएर पराजित भएका थिए ।

यसबाहेक डोल्पो–बुद्ध गाउँपालिका अध्यक्ष स्वतन्त्रले जितेका थिए । यो पालिकामा स्वतन्त्रले ५ सय ५३ मत ल्याएका थिए भने एमालेका उम्मेदवारले ३ सय ११ मत ल्याएका थिए । उपाध्यक्ष र वडाध्यक्ष सहमतिमा निर्वाचित भएका थिए । त्यसबाहेक शे–फोक्सुण्डो गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

जगदुल्ला र मुड्केचुला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो । अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी जगदुल्लामा बलियो देखिन्छ । मड्केचुला गाउँपालिकामा माओवादी उम्मेदवारले २ मतान्तरले जित हासिल गरेका थिए । माओवादी उम्मेदवारले ९ सय ३३ मत ल्याएका थिए भने एमाले उम्मेदवारले ९ सय ३१ मत ल्याएका थिए । उपाध्यक्ष भने एमाले जितेको थियो । त्यसकारण यो पालिकाको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यद्यपि, एमाले विभाजित छ । त्यसको असर पनि जिल्लामा देखिएको छ ।

निर्वाचनअगावै जिल्लाको काइके र छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका कारण निर्विरोध निर्वाचित भएका छन् । काइके गाउँपालिकाका वडाध्यक्ष र सदस्यमा एकल उम्मेदवारी परेको छ । डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका छन् । शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षमा एकल मनोनयन परेपछि एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

विगतमा एमालेले जितेको दुई नगरसहित बाँकी पालिकामा पाँच दलबीच तालमेलका प्रयास पनि भएका छन् । तालमेल सफल भए एमालेले बिरासत जोगाउन ठूलै प्रयास गर्नुपर्ने देखिन्छ । डोल्पामा स्थानीय निर्वाचनका लागि २२ हजार ४ सय ४० मतदाता छन् । त्यसमध्ये ११ हजार ६१ पुरुष र ११ हजार ३ सय ७९ महिला छन् ।