राष्ट्रपतीय निर्वाचन अघि ट्रम्प र ह्यारिसको बहस भोलि

राष्ट्रपतीय निर्वाचन अघि ट्रम्प र ह्यारिसको बहस भोलि


काठमाण्डु-अमेरिकामा भोलि दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनका लागि बहस हुँदैछ । बहसमा उम्मेदवारहरू पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदैछन् ।

टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने बहसमा मतदाताले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ ।

ह्यारिस कुशल बहसकर्ता मानिन्छिन । तर ट्रम्पले सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरिसकेका छन् ।

यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो । यसअघि राष्ट्रपति जो बाइडनले निर्वाचनबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र ट्रम्पबीच पहिलो बहस भएको थियो ।

एबीसी टेलिभिजनबाट प्रसारण हुने दोस्रो बहस एबीसी न्यूज लाइभ, डिज्नी प्लस र हुलुबाट ‘लाइभस्ट्रीम’ हुनेछ ।

बहसमा कडाइका साथ समयसीमा तोकिएको हुन्छ । हरेक उम्मेदवारले सञ्चालकले सोधेका प्रश्नको जबाफ दिन अधिकतम दुई मिनेटको समय पाउँछन् भने खण्डनका निम्ति पनि दुई मिनेटकै समय पाउँछन् ।

कमला ह्यारिसले सन् २००३ देखि नै चुनावी बहसमा भाग लिँदै आएकी छन् । उनले पहिलो बहसपछि सान फ्रान्सिस्कोको ‘डिस्ट्रिक्ट अटोर्नी’ पदमा जित हासिल गरेकी थिइन् ।

त्यस्तै उनले क्यालिफोर्नियाको ‘अटोर्नी जनरल’ तथा क्यालिफोर्नियाका निम्ति अमेरिकी सेनेटरमा चुनिने बेलाका अभियानका बहसहरूमा पनि भाग लिएकी थिइन् ।

सन् २०१९ मा डेमोक्रेटिक पार्टीका निम्ति राष्ट्रपतीय मनोनयनका निम्ति प्रतिस्पर्धा गर्ने क्रममा उनले जो बाइडनसँग बहस गरेकी थिइन् भने सन् २०२० मा उपराष्ट्रपतीय बहसका क्रममा उनको साक्षात्कार माइक पेन्ससँग भएको थियो ।

ह्यारिसले अमेरिकी सेनेट तथा त्यसअघि क्यालिफोर्नियाका अदालतहरूमा अभियोजक छँदा पनि बहसको प्रशस्त अनुभव हासिल गरेकी थिइन्, जहाँ विपक्षीको कमजोरी उजागर गर्नुलाई मुख्य कौशल मानिन्छ ।

ह्यारिस सार्वजनिक कार्यक्रममा आवश्यकताभन्दा बढी शब्द खर्चने व्यक्तिका रूपमा समेत देखिँदै आएकी छन् । राष्ट्रपतीय बहसमा बोल्ने समय वास्तवमै सीमित हुन्छ भने आफ्नो अभियानको सन्देश मतदातासम्म स्पष्टसँग पु¥याउनुपर्ने पनि हुन्छ ।

भोलि ट्रम्पविरुद्धको बहस ह्यारिसका निम्ति उनले यो प्रतिस्पर्धामा प्रवेश गरेयताकै सबैभन्दा ठूलो चुनौती हुनेछ ।

सन् २०१६ र २०२० गरी दुई चरणको बहसमा भाग लिइसकेका ट्रम्पले निकै जुझारु र अपरम्परागत विपक्षीका रूपमा स्वयंलाई साबित गरिसकेका छन् ।

सन् २०१६ को हिलारी क्लिन्टनसँगको बहसका क्रममा ट्रम्प मञ्चको वरपर घुमिराखे र क्लिन्टनले बोल्न थालेपछि उनको ठिक पछिल्तिर उभिन पुगे । हिलारीले उनको क्रियाकलापले आफू असहज बनेको बताएकी थिइन् ।

तर ट्रम्प प्रायशः बोल्दाबोल्दै विषयवस्तुबाट भड्किने गरेका छन् भने उनका कतिपय दाबीलाई तथ्यजाँचकर्ताहरूले मिथ्या ठह¥याएका छन् ।

राजनीतिक विश्लेषण गर्दै आएको ‘रिअल क्लिअर पलिटिक्स’ नामक संस्थाले गरेको देशव्यापी सर्वेक्षणको संश्लेषणअनुसार निर्वाचनको मैदानमा सामेल भएयता ह्यारिसले तीन अङ्क हासिल गरेकी छन् । उक्त संस्थाले जनाएअनुसार सेप्टेम्बर ३ सम्मको राष्ट्रिय स्थितिमा उनी ट्रम्पभन्दा १.९ अङ्कले अघि थिइन् ।

यद्यपि सन् २०१६ मा यही स्थितिको राष्ट्रिय सर्वेक्षणहरूमा हिलारी क्लिन्टन पनि पाँच अङ्कले अघि थिइन्, तर ट्रम्पसँग हार्न पुगिन् ।

राष्ट्रिय सर्वेक्षणको तुलानामा राज्यभित्र गरिने सर्वेक्षणहरू महत्वपूर्ण मानिन्छन् किनभने अलगअलग राज्यका मतपरिणामले उम्मेदवारले ‘इलेक्टोरल कलेज’मा हासिल गर्ने मत निर्धारण गर्छ र ‘इलेक्टोरल कलेज’ले को राष्ट्रपति बन्छ भन्ने तय गर्छ ।

सेप्टेम्बरको सुरुमा ’रिअल क्लिअर पलिटिक्स’ले ह्यारिसले मिशिगन र जोर्जाको सर्वेक्षणमा ट्रम्पलाई उछिनेको, पेन्सिल्भेनियामा बराबरी स्थितिमा रहेको र एरिजोना तथा नोर्थ क्यारलाइनामा ट्रम्पभन्दा पछाडि रहेको जनाएको थियो ।

राजनीतिक विश्लेषकहरू यी प्रक्षेपणहरू चुनावी नतिजाको नजिक रहेकोमा सहमत छन् ।

राष्ट्रपतीय चुनाव जित्नका निम्ति ‘इलेक्टोरल कलेज’बाट २७० मत हासिल गर्नुपर्छ । हालैका सर्वेक्षणहरूले डेमोक्रेटसका निम्ति २२६ र रिपब्लिकन्सका निम्ति २१९ मत सुनिश्चित रहेको देखिएको छ । बाँकी ९३ मत जसलाई पनि जान सक्छ । बीबीसीको रिपोर्टमा आधारित