काठमाण्डु–अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफूले निक्की हेली वा माइक पोम्पोओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने बताएका छन्। उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध स्पष्ट जित हासिल गरेपछि उनी अहिले आफ्नो भावी मन्त्रिपरिषद्लाई स्वरुप दिने प्रयास गरिरहेका छन् ।
“म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु,” ट्रम्पले एउटा सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्।
ट्रम्पका नजिकका सहयोगीरूले हेली र पोम्पेओलाई ‘डिप स्टेट’ अर्थात् पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थ रक्षाका लागि काम गर्ने गोप्य सरकारी संयन्त्रको प्रतिनिधि भएको आरोप लगाउने गर्छन्। दुवैले ट्रम्पको ‘अमेरिका पहिलो’ नारालाई अवमूल्यन गर्ने उनीहरूको तर्क छ।
यसै वर्षको चुनावी प्राइमेरीमा ट्रम्पलाई रिपब्लिकन दलको राष्ट्रपति उम्मेदवार पदमा चुनौती दिनेमा हेली पनि एक थिइन्। प्रइमेरीमा पार्टीका मतदाताहरूले ह्वाइट हाउसका लागि आफ्नो दलको उम्मेदवार तय गरेका थिए।
उक्त प्रतिस्पर्धामा साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेलीले ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। एउटा बिन्दुमा उनले उनलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको आरोप लगाएकी थिइन्।
तर उक्त प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न ट्रम्प सफल भए। ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म राष्ट्रसङ्घको स्थायी प्रतिनिधि रहेकी हेलीले अन्ततः ट्रम्पलाई अनुमोदन गरेकी थिइन्। तर उनले आफ्नो अभियानको अन्तिम चरणमा सहयोग गर्न हेलीलाई निम्तो भने दिएनन्।
हेलीलाई कुनै भूमिकाका लागि विचार नगरिनुलाई खासै आश्चर्यजनक घटनाका रूपमा नलिइएको भए पनि पूर्व सीआईएका निर्देशक माइक पोम्पेओ रक्षा मन्त्रीको दाबेदार रहेका थिए।
शुक्रवार उनले आफ्नो वेबसाइटमा हेली र पोम्पेओलाई सङ्केत गर्दै ‘देश र संस्थालाई घात गर्नसक्ने’ बाट नयाँ प्रशासन चयन गर्दा ट्रम्प सावधान हुनुपर्ने उल्लेख गरेका थिए।
प्रतिक्रिया