काठमाण्डु-अमेरिकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले आफ्नो मन्त्रिपरिषद् गठनमा व्यस्त छन् ।
अमेरिका पहिलो नीतिमा जोड दिदैँ उनले आफ्नो सरकारमा रक्षामन्त्री, सीआईए प्रमुख र ह्वाइट हाउस काउन्सिलसहित महत्वपूर्ण पदमा नियुक्ति गरिसकेका छन् । जसमा भारतीय मूलका विवेक रामास्वामी र एलन मस्कलाई सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको छ ।
नियुक्तिपछि ट्रम्पले भनेका छन्, ‘यी दुई उत्कृष्ट अमेरिकीहरूले सरकारी कर्मचारी हटाउन, फोहोर कम गर्न र संघीय एजेन्सीहरूको पुनर्गठन गर्न एकसाथ काम गर्नेछन् । यो सेभ अमेरिका (अमेरिका बचाऊ) आन्दोलनको लागि महत्वपूर्ण छ ।’
ट्रम्पले रक्षामन्त्रीको जिम्मेवारी पिट हेगलाई दिएका छन् भने जोन र्याट्क्लिफलाई सीआईए प्रमुख बनाएका छन् । त्यस्तै विलियम जोसेफ म्याकगाइलले ह्वाइट हाउसको सल्लाहकारको भूमिका पाएका छन् ।
फक्स न्युजमा होस्ट समेत रहेका रक्षामन्त्री हेगेसा पूर्व सैन्य अधिकारी हुन् ।
मस्कलाई जिम्मेवारी
ट्रम्पले ५३ वर्षीय दक्षिण अफ्रिकी मूलका बिजनेस टाइकुन एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।
ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् ।
नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।
मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई जिताउनका लागि आफ्नो समय, ज्ञान तथा पैसा खर्चिए ।
ट्रम्पलाई पुनः निर्वाचित गर्ने उद्देश्यबाट मस्कले एक सुपर पिएसी (राजनीतिक कार्य समिति) लाई ११ करोड ९० लाख डलर दान दिएका थिए ।
उनले मतदानभन्दा अघिका केही दिनसम्म चुनावको दृष्टिकोणले निकै अहम् महत्व राख्ने राज्यहरूमा गएर ट्रम्पको पक्षमा मतदातालाई एकजुट बनाउन निकै मेहेनत गरेका थिए ।
त्यस क्रममा ती क्षेत्रहरुमा मतदाताहरुलाई दैनिक १० लाख डलर पनि दिए । सो रकम एक लट्रीको माध्यमबाट दिइएको थियो, जसलाई कानूनी रुपमा चुनौती समेत दिइयो । तथापि अदालतले त्यस्तो कार्य गैरकानूनी नभएको फैसला गर्यो ।
ट्रम्पले आउँदो २० जनवरीदेखि कार्यभार सम्हाल्नेछन् ।
प्रतिक्रिया