वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विश्व व्यापार संगठनबीचको विवाद गत ४ वर्षदेखि रहदै आएको छ । हाल आएर ट्रम्पले पुनः एक पटक यो संगठनमाथि ठूलो आरोप लगाएका छन् र अमेरिकासँग भेदभाव भएको उनले बताएका छन् ।
यस पटक उनले भनेका छन्, ‘भारत र चीन जस्तै अमेरिका पनि एक विकासशील देश हो । तर हामीलाई सोही अनुसार हेरिएको छैन ।’
विश्व आर्थिक मञ्चमा चलिरहेको सत्रमा बोल्दै ट्रम्पले भने, ‘सबैलाई थाहा छ कि मेरो र डब्लूटीओबीच राम्रो सम्बन्ध छैन । किनकी हाम्रो देशसँग सही व्यवहार गरिएको छैन । भारतलाई पनि विकासशील देश मानिएको छ । तर हामीलाई सोही दृष्टिकोणबाट हेरिएको छैन ।’
व्यापारको मामिलामा डोनाल्ड ट्रम्पले भारत वा चीनको बिरुद्धमा यस्तो बोलेको यो पहिलो पटक भने होइन । विगत लामो समयदेखि चीनसँग अमेरिकाको व्यापार युद्ध चलिरहेको छ र भारतको बिरुद्धमा पनि भन्सार शुल्कको विषयलाई लिएर ट्रम्पले भेदभाव गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपतिले भनेका छन्, ‘जहाँसम्म मेरो बुझाई छ, हामी पनि त्यस्तै हौ । विकासशील देशको नाममा यी देशहरुलाई व्यापक फाइदा भइरहेको छ । जुन उनीहरुले पाउनु हुदैनथ्यो । कुनै पनि सम्झौताका लागि अब हामी नयाँ संरचनाको माग गर्दछौ ।’
विगतका दिनमा चीनसँग व्यापार सम्झौताको पहिलो चरण पार गरेका ट्रम्पले भने, ‘डब्लूटीओले यस किसिमको भेदभाव गर्दैन भने आजको चीन कहिले पनि यस किसिमको चीन हुदैनथ्यो ।’
यस पटक ट्रम्पले डाभोसमा जारी विश्व आर्थिक मञ्चको समयमा यस किसिमको भाषण दिएका हुन् । यो अवधिमा उनले आफ्नो उपलव्धीको बारेमा बताए यो वर्ष हुने चुनावमा पनि आफ्नो जीत हुने दावी समेत गरेका छन् ।
प्रतिक्रिया