डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपतिलाई ‘मूर्ख’ नबन भनेपछि…

डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपतिलाई ‘मूर्ख’ नबन भनेपछि…


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मूर्ख नबन्नू’ भन्दै पठाएको चिठी टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले डस्टबिनमा फ्याँकिदिएका छन् ।

सिरियाबाट अमेरिकी सेनालाई फिर्ता बोलाएपछि अक्टुबर ९ मा ट्रम्पले एर्दोआनलाई चिठी पठाएका थिए ।

‘कडा मान्छे नहुनुहोस्, मूर्ख नहुनुहोस्,’ ट्रम्पले उक्त चिठीमा लेखेका थिए । पत्र पाएको दिन टर्कीले कुर्द नेतृत्व सेनाको विरूद्ध सीमापार आक्रमण गरेको थियो ।

‘हामीसँगै काम गर्नु नै राम्रो सम्झौता हुन्छ, तपाईं हजारौं मान्छे मार्नको लागि जिम्मेवार हुन चाहनुहुन्न, र म टर्कीको अर्थतन्त्रको विनाशको कारण बन्न चाहन्नँ’ ट्रम्पले उक्त चिठीमा उल्लेख गरेका छन् ।

त्यसको जवाफमा एर्दोआनले उक्त प्रस्तावलाई अस्वीकार गर्दै डस्टबिनमा फ्याँकेको बिबिसीले जनाएको छ । त्यसपत्रको अन्त्यमा ट्रम्पले एर्दोआनलाई फोन समेत गर्ने उल्लेख गरेका थिए ।

ट्रम्पले ‘विश्वलाई नै पछि धकेल्ने काम नगर’ भन्दै चेतावनीपूर्ण भाषाको प्रयोग गरेका छन् । उनले सिरियाली कुर्दहरु वार्ता गर्न चाहन्छन् र कुनै सम्झौताको निष्कर्षमा पुग्न चाहेको पत्रमार्फत बताएका छन् ।

टर्कीले आफ्नो सीमामा रहेको सिरियाली भूभागबाट कुर्दलाई हटाएर ३२ किमी क्षेत्रमा सेफ जोन बनाउन चाहेको छ । जहाँ पछि २० लाख सिरियाली शरणार्थीलाई राख्ने टर्किस राष्ट्रपति इर्डोगानले बताएका थिए । तर, यही विषयमा पछिल्लो पटक उसले कुर्दमाथि आक्रमण गर्दा लाखौं मानिस समस्यामा परेका छन् ।

अमेरिकाले यसअघि कुर्दहरुमाथिको टर्किको आक्रमणको निन्दा गर्दै केही मन्त्रालय र निकायलाई प्रतिबन्धको घोषणासमेत गरिसकेको छ ।