अमेरिकी जनताको शानदार जित : ट्रम्प, अन्तिम नतिजा अगावै खुसीयाली सुरु

अमेरिकी जनताको शानदार जित : ट्रम्प, अन्तिम नतिजा अगावै खुसीयाली सुरु


काठमाण्डु-अमेरिकाको ४७ औं राष्ट्रपतिा जित निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार जित भएको बताएका छन् ।

फ्लोरिडा राज्यको पाल्ममा समर्थकहरूलाई सम्बोधन गर्दै उनले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे । ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् ।

आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।

विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने ट्रम्पको भनाइ छ । ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए ।

सबैभन्दा महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा ट्रम्पले जित निकालेका छन् । १९ इलेक्टोरल कलेज भोट रहेको यो राज्य सबैभन्दा ठुलो ‘स्विङ स्टेट’ हो ।

यहाँ ट्रम्पले ५१ प्रतिशत मत प्राप्त गर्दै जित निकाल्दा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४८ मत प्राप्त गरेको द न्यु योर्क टाइम्सले जनाएको छ । यद्यपि यो नतिजा आधिकारिक घोषणा भने भएको छैन ।

यो जित सँगै ट्रम्पको पक्षमा २६७ इलेक्टोरल कलेज भोट प्राप्त भएको छ । उनलाई राष्ट्रपति पदमा जित सुनिश्चित गर्न थप तीन इलेक्टोरल कलेज भोट चाहिन्छ । अर्की उम्मेदवार ह्यारिसको पक्षमा २१४ इलेक्टोरल कलेज भोट मात्रै प्राप्त भएको छ ।

पेन्सिलभेनियाको जित सुनिश्चित भएसँगै ट्रम्पले अन्तिम नतिजा आउनु अगावै जितको खुसीयाली मनाउन थालिसकेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् ।