कस्तो रहनेछ ट्रम्पको दोस्रो कार्यकाल ?

कस्तो रहनेछ ट्रम्पको दोस्रो कार्यकाल ?

पहिलो कार्यकालसँग मिल्दो जुल्दो विदेश नीति हुने आकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनको आगमी सत्ता यात्रा कस्ने रहने विषयमा बहस सुरु भएको छ । कतिपय पर्यवेक्षकहरूका अनुसार ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालले यसपटक उनले कसरी सत्ताको नेतृत्व गर्छन् भन्ने सङ्केत दिन्छ ।

उनीहरू राष्ट्रपति ट्रम्प सन् २०२० मा आफ्नो पहिलो कार्यकाल सकिएकै बिन्दुबाट अघि बढ्ने ठानेका छन् ।

ट्रम्पको पूरा नभएको एउटा प्रमुख परियोजना भनेको अमेरिकाको दक्षिणी सीमा बन्द गर्ने थियो । त्यसबेला ट्रम्प कंग्रेसबाट मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गरेर सीमा नियन्त्रण गर्नका लागि बजेट जुटाउन विफल भएका थिए ।

चुनावी अभियानका समयमा गरिएको पर्खाल निर्माण अघि बढाउने प्रतिबद्धतालाई उनले यसपाली कायम राख्ने ठानिएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा बस्न कानुनी रूपमा अनुमति नपाएका व्यक्तिहरूलाई सामूहिक देशनिकाला गर्नका लागि कंग्रेसको समर्थन खोज्ने सम्भावना छ ।

पीउ रिसर्च सेन्टरका अनुसार सन् २०२२ मा अमेरिकामा १ करोड १० लाखजना अनधिकृत आप्रवासीहरू रहेका थिए । तर ट्रम्प र उनको अभियानले त्यहाँ दशौँ लाख त्यस्ता व्यक्तिहरू रहेको दाबी गरिरहेका छन् । विज्ञहरूले ठूलो स्तरमा आप्रवासीहरूलाई देश निकाला गर्नु खर्चिलो हुने र त्यसको कार्यान्वयन गर्न कठिन हुने बताइरहेका छन् ।

उनीहरूले कागजातविहीन आप्रवासीले प्रमुख भूमिका खेल्ने अर्थतन्त्रका निश्चित क्षेत्रमा पनि त्यसले असर पार्ने धारणा राखिरहेका छन् । जुलाईमा रिपब्लिकन दलबाट राष्ट्रपति पदको उम्मेदवारको मनोनयन स्वीकार गर्दा ट्रम्पले भयावह मुद्रास्फीतिको सङ्कट तत्कालै समाधान गर्ने, ब्याजदरहरू घटाउने र ऊर्जाको मूल्य कम गर्ने वाचा गरेका थिए ।

सन् २०१७ मा आफूले कार्यान्वयनमा ल्याएको तर अर्को वर्ष समाप्त हुन लागेको खर्च कटौतीलाई उनी विस्तार गर्न चाहन्छन् । ट्रम्पले कर्पोरेट दरलाई अझ घटाएर १५ प्रतिशतमा कायम राख्ने र टिप्स र अवकाशप्राप्त व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भुक्तानीको कर हटाउने अपेक्षा गरिएको छ ।

उनी थप तेल उत्खनन गर्न चाहन्छन् किनभने त्यसको उच्च मूल्यका कारण मुद्रास्फीति भएको उनको बुझाइ छ । त्यसो गर्दा ऊर्जाको मूल्य घट्ने भनिएको भएपनि विश्लेषकहरूले आशङ्का व्यक्त गर्ने गरेका छन् । उनले आफूले विदेशबाट आउने अधिकांश सामाग्रीमा १० देखी २० प्रतिशत कर लगाउने योजना रहेको बताएका छन् । चीनबाट आयात गरिने सामानहरूमा ६० प्रतिशत कर लगाउने योजना छ ।

धेरै अर्थविद्हरूले त्यस्तो कदमले अमेरिकी उपभोक्ताहरूलाई उच्च मूल्य तिर्न बाध्य बनाउने बताएका छन् ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले बेइजिङसँग व्यापार युद्ध सुरु गरेका थिए । त्यसबेला उनले चीनले अनुपयुक्त व्यापार अभ्यास गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका थिए ।

अब अमेरिकी कंग्रेसको स्वरूप कस्तो हुनेछ त्यसले राष्ट्रपति ट्रम्पले आफूले चाहेका नीति लागु गर्न सक्छन् या सक्दैनन् भन्ने निर्धारण गर्नेछ । सन् २०१७ देखि सन् २०१९ सम्म रिपब्लिकनहरूले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स दुवैमा नियन्त्रण कायम राखेका थिए ।

तर त्यो बेला क्यापिटल हिलमा नयाँ व्यक्तिका रूपमा ट्रम्प कंग्रेसको कार्यशैलीप्रति जानकार नरहेका जस्ता देखिएको र कंग्रेसमा रहेको बहुमत अनि ह्वाइट हाउसमा रहेको रिपब्लिकन लाभको प्रयोग प्रमुख नीतिगत जीतका लागि गर्न नसकेको विश्लेषकहरूले बताउने गरेका छन् ।

विदेश नीतिमा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल पहिलोसँग मिल्दो जुल्दो हुने आकलन गरिएको छ । उनले विश्वका अन्य ठाउँमा भइरहेको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने ठानिएको छ । उनले २४ घण्टाभित्रै रुससँगको संवादमार्फत युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन् । डेमोक्रेटहरूले त्यस्तो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलियो बनाउने बताउने गरेका छन् । ट्रम्पले आफूलाई इजरायलका प्रखर समर्थकका रूपमा उभ्याएका छन् तर उनले गाजा युद्ध अन्त्य गर्ने बताएका छन् ।

पूर्व नेटो अधिकारी तथा युनिभर्सिटी अफ एक्सटरका स्ट्रयाटिजी तथा सेक्युरिटी सम्बन्धी प्राध्यापक जेमी से ट्रम्पको पहिलो कार्यकालको शैली ध्वंसात्मक रहेको ठान्छन् ।

निरन्तरताको क्रम टुटाएर दुई कार्यकाल सत्तामा पुग्ने ट्रम्प अमेरिकी इतिहासकै दोस्रा राष्ट्रपति हुन् । सन् १८८५ देखी १८८९ सम्म राष्ट्रपति रहेका ग्रोभर क्लिभलेन्ड दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुन विफल भएका थिए । तर त्यसको चार वर्षपछि ताजा जनादेशबाट चुनिएका उनी सन् १८९३ देखी १८९७ सम्म अमेरिकाका राष्ट्रपति रहे । बीबीसीको रिपोर्टमा आधारित