विश्व भू-राजनीतिमा डोनाल्ड ट्रम्पको जितले कस्तो प्रभाव पार्छ?

विश्व भू-राजनीतिमा डोनाल्ड ट्रम्पको जितले कस्तो प्रभाव पार्छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमनले संयुक्त राज्य अमेरिकाको विदेश नीतिलाई नयाँ आकार दिने अनुमान गरिएको छ ।

विश्वका विभिन्न स्थानमा युद्ध तथा अनिश्चतता कायम रहेका बेला धेरै क्षेत्रमा त्यस्तो नयाँ विदेशनीतिका कारण आमूल परिवर्तन हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।

चुनाव प्रचारका क्रममा ट्रम्पले आफ्ना नीतिहरूका बारे विस्तृत प्रतिबद्धताहरू व्यक्त गरेका थिए । तीमध्ये धेरैमा खास विवरणहरू हुँदैन्थे । तर ती सबैको आधार उनले भन्ने गरेको ‘पहिले अमेरिका’ नीति नै हो र ती गैरहस्तक्षेपवाद र संरक्षणवाद भन्न सकिने सिद्धान्तहरूमा आधारित छन् ।

अब उनको विजयले धेरै वर्षदेखि जारी समानान्तर सङ्कटहरूका माझ विदेशनीतिलाई अघि बढाउने वाशिङ्टनको कदममा सबैभन्दा उल्लेखनीय परिवर्तनको संकेत गर्छ ।

ट्रम्पले चुनाव प्रचारका बेला दिएका अभिव्यक्ति र सन् २०१७ देखि २०२१ सम्मको उनको राष्ट्रपतीय कार्यकालमा भएका कामहरूको आधारमा उनको सम्भावित आगामी कदमबारे अनुमान गर्न सकिन्छ ।

चुनाव प्रचारका बेला ट्रम्पले बारम्बार आफूले २४ घण्टाभित्र रुस र युक्रेनबीचको लडाइँ अन्त्य गरिदिन सक्ने बताएका थिए । त्यो कसरी सम्भव छ भनेर प्रश्न सोधिँदा उनले खास उपायहरू नबताईकन विशेष प्रकृतिको सम्झौता गर्न सकिने भन्ने जवाफ दिएका थिए ।

ट्रम्पका दुई भूतपूर्व राष्ट्रिय सुरक्षा प्रमुखहरूले गत मई महिनामा तयार पारेका एउटा अध्ययन प्रतिवेदनमा अमेरिकाले युक्रेनलाई दिँदै आएको अस्त्र सहयोगलाई निरन्तरता नै दिने तर किएभ रुससँग शान्तिवार्ता गर्न तयार हुनुपर्ने सर्तमा मात्रै त्यस्तो सहयोग दिइनुपर्ने उल्लेख छ ।

ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिलोमतो गर्ने आरोप लगाउने उनका डेमोक्रेट विपक्षीहरूले उनको कदम युक्रेनको हकमा आत्मसमर्पण गरे सरह हुने र त्यसबाट समग्र युरोपलाई नै सङ्कटमा पार्ने बताउने गरेका छन् ।

ट्रम्पका भूतपूर्व सल्लाहकारहरूको प्रतिवेदनले ट्रम्प स्वयंका विचारलाई कुन हदसम्म प्रतिबिम्बित गर्छ भन्ने स्पष्ट छैन । तर त्यसबाट उनले कस्तो प्रकृतिको सुझाव र सल्लाह प्राप्त गरिरहेका छन् भन्ने आकलन भने गर्न सकिन्छ ।

युद्ध अन्त्य गर्ने दिशामा उनको ‘पहिले अमेरिका’ भन्ने नीति नेटोको भविष्यजस्तो रणनीतिक मुद्दामा समेत जोडिन्छ । नेटो आन्ध्र महासागर वारपारका देशहरूबीचको एकका–लागि–सबै र सबैका–लागि–एक भन्ने सिद्धान्त बोकेको सैन्य गठबन्धन हो ।

नेटो दोस्रो विश्वयुद्धपछि तात्कालिक सोभियत संघविरुद्ध स्थापना भएको थियो । नेटोमा ३० राष्ट्र सदस्य छन् र ट्रम्प लामो समयदेखि नै उक्त गठबन्धनको आलोचक रहँदै आएका छन् । उनले युरोपलाई उनीहरूको सुरक्षा गरिदिने अमेरिकी प्रतिबद्धताको निःशुल्क फाइदा लिँदै आएको आरोप लगाउने गर्छन् ।

युक्रेनको विषयमा जस्तै ट्रम्पले मध्यपूर्वमा पनि शान्ति ल्याउने वचन दिएका छन् । उनले गाजामा इजरायल–हमास र लेबननमा इजरायल–हिज्बुल्लाह युद्ध अन्त्य गर्न संकेत गरेको देखिन्छ । तर त्यो कसरी गर्ने भनेर चाहिँ उनले केही पनि बताएका छैनन् ।

पहिलो कार्यकालमा उनको प्रशासनले इरानसँगको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्ग्याएको थियो, इरानमाथि थप ठूला प्रतिबन्धहरू लगाएको थियो र इरानका सबैभन्दा शक्तिशाली सैनिक कमान्डर जेनरल कासेम सुलेमानीलाई मारिदिएको थियो ।

ट्रम्पले गाजा युद्ध अन्त्य गर्न चाहेको भनेर भाषण गरेका थिए । उनको इजराली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग जटिल र कुनै बेला अप्रभावकारी समेत देखिने सम्बन्ध रहिआएको छ । तर निश्चय नै उनीसँग नेतन्याहूमाथि दबाव बढाउन सक्ने क्षमता छ ।

उनको हमाससँग सम्पर्क भएका केही महत्वपूर्ण अरब देशहरूसँग बलियो सम्बन्ध रहेको इतिहास पनि छ ।

अमेरिकाको चीनसँगको सम्बन्ध उसको विदेशनीतिको सबैभन्दा महत्वपूर्ण रणनीतिक विषय हो । अनि त्यसको सबैभन्दा ठूलो असर विश्वव्यापी सुरक्षा र व्यापारमा पर्ने छ ।

पहिलो कार्यकालमा ट्रम्पले चीनलाई रणनीतिक प्रतिद्वन्द्वी भनेका थिए र चीनबाट अमेरिका निर्यात हुने केही सामग्रीमा करहरू लागु गरेका थिए । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आफ्नो देशमा भित्रिने त्यस्तै वस्तुहरूमा कर लगाएको थियो ।

ट्रम्पले चीनका राष्ट्रपति सी जिन्पिङलाई प्रतिभाशाली तर खतरनाक तथा १.४ अर्ब जनतालाई फलामे मुट्ठी कसेर नियन्त्रण गर्ने एक एकदमै प्रभावशाली नेता भन्दै प्रशंसा गरेका थिए । उनका विपक्षीहरूले तानाशाहहरूको प्रशंसा गर्ने ट्रम्पको स्वभाव भएको भनेर आलोचना पनि गरेका थिए ।

बाइडन प्रशासनले अपनाएको चीनलाई नियन्त्रण गर्ने प्रयासमा अन्य क्षेत्रीय देशहरूसँग सुरक्षा साझेदारी गर्ने नीतिलाई नयाँ राष्ट्रपतिले अवलम्बन नगर्ने सम्भावना छ ।