काठमाण्डु- रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प ऐतिहासिक जितसँगै पुनः अमेरिकी राष्ट्रपति बनेर ह्वाइट हाउस फर्किन लागेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसँग भएको कडा प्रतिस्पर्धामा ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
संयुक्त राज्य अमेरिकाको इतिहासमा १३० वर्षभन्दा लामो समयपछि उनी राष्ट्रपति बनेर पुनः ह्वाइट हाउस फर्किने पहिलो व्यक्ति हुने छन् । ६८ वर्षीय ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुने अहिलेसम्मकै पाका व्यक्ति पनि हुन् । मतगणना लिइरहँदा नै विश्वका थुप्रै नेताहरूले ट्रम्पलाई विजयको शुभकामनासहित अग्रिह बधाई दिएका थिए । कमला ह्यारिसले पनि पराजय स्वीकार गर्दै ट्रम्पलाई बधाई दिँदै सत्ता हस्तान्तरणमा सहयोग गर्ने वाचा गरेकी छन् ।
मुख्य प्रतिस्पर्धा हुने ठानिएका ‘स्विङ स्टेट’ भनिने राज्यहरूमा नतिजा जता पनि ढल्किन सक्ने र त्यसबाट अन्तिम मतपरिणाम अनिश्चित हुन सक्ने अनुमान गरिएको थियो । तर सोचेभन्दा पहिल्यै नर्थ क्यारलाइना, जोर्जा, पेन्सिल्भेनिआ र विस्कन्सिन राज्यहरू रिपब्लिकन पार्टीको पोल्टामा गयो । पहिल्यैदेखि रिपब्लिकनको बलियो पकड भएका राज्यको पनि हिसाब गर्दा उनले राष्ट्रपतिका लागि चाहिने २७० इलेक्टोरल मत सजिलै नघाए ।
निर्वाचनमा विजय भएसँगै के ट्रम्प अमेरिकाको राष्ट्रपति बनिसकेका हुन् त ? होइन । ट्रम्प राष्ट्रपति पदमा निर्वाचित मात्रै भएका हुन् । उनीसँगै उनका चुनावी सहयात्री जेडी भान्स उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् ।
ट्रम्पले सन् २०२५ को जनवरी २० अर्थात् माघ ७ गते सोमवार एउटा विशेष समारोहमा शपथ लिने छन् । त्यसलाई ‘इनग्युरेशन’ भनिन्छ । त्यस बेलादेखि उनले कानुनी रूपमा राष्ट्रपतिको शक्ति र उत्तरदायित्व वहन गर्न पाउने छन् ।
सर्वसाधारण मतदाताको प्रत्यक्ष मतबाट निर्वाचित हुने निर्वाचक मण्डलसँग हुने इलेक्टोरल मत सुनिश्चित गरेपछि मात्र राष्ट्रपति निर्वाचित हुन्छन् । सामान्यतया राज्यका इलेक्टोरल कलेजले त्यहाँ बढी लोकप्रिय मत पाउने व्यक्तिलाई समर्थन गर्छ । डिसेम्बर १५ मा हुने भेलाबाट त्यसको निर्क्यौल गरिन्छ ।
इलेक्टोरल कलेज मतको गणना गरेर नयाँ राष्ट्रपतिको टुंगो लगाउन नयाँ अमेरिकी कंग्रेसको बैठक जनवरी ६ मा बस्नेछ । सन् २०२१ मा डोनल्ड ट्रम्पले हार स्वीकार गर्न नमानेपछि ट्रम्पका समर्थकहरूले त्यस्तै बैठकलाई रोक्ने प्रयासमा अमेरिकी संसद् भवनमा धावा बोलेका थिए ।
संसद्मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उकासेको आरोपमा उनीविरुद्ध महाभियोग पनि दर्ता भएको थियो । राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित ट्रम्प र भान्सले राष्ट्रपति जो बाइडनको प्रशासनबाट आफूमा सत्ता हस्तान्तरण गराउन आफ्नो विशेष टोलीसँग सहकार्य गर्नेछन् ।
उनीहरूले आफ्ना नीतिगत प्राथमिकता पहिचान गर्छन् । उनीहरूले आफ्नो नयाँ प्रशासनका लागि उपयुक्त व्यक्तिहरू छनोट गर्दै सरकारको कामकारबाहीका लागि तयार पार्छन् ।
अब ट्रम्प र उनको टोलीलाई वर्तमान खतरा र जारी सैन्य कारबाहीका राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा गोप्य जानकारीहरू पनि दिइने छ । ट्रम्प र भान्स दुवै जनाले गुप्तचर निकाय यूएस सीक्रेट सर्भिसबाट स्वतः सुरक्षा पाउने छन् ।
सामान्यतया पदासीन राष्ट्रपतिले आफ्नो उत्तराधिकारी निर्वाचित भएका व्यक्तिलाई ह्वाइट हाउसमा आमन्त्रित गर्छन् । यसै क्रममा निवर्तमान हुन लागेको राष्ट्रपति जो वाइडेनले मंगलबार ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेका थिए ।
राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको शपथग्रहण समारोहमा सहभागी भई शान्तिपूर्ण शक्ति हस्तान्तरणको संकेत पनि दिने चलन छ । यद्यपि सन् २०२० मा ट्रम्प बाइडनको ‘इनग्युरेशन’मा अनुपस्थित थिए । रोनाल्ड रेगनले सुरु गरेको परम्परा अनुसरण गर्दै उनले नयाँ नेतृत्वका लागि एउटा हस्तलिखित टिपोट ओभल अफिसमा छाडेका थिए ।
त्यस बेला राष्ट्रपति बाइडनले पत्रकारहरूलाई आफ्ना पूर्ववर्तीले एउटा निकै सदाशययुक्त पत्र छाडेको बताएका थिए ।
प्रतिक्रिया