काठमाण्डु-अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विवादास्पद छविका व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गरेपछि अलोचना सुरु भएको छ । मन्त्रिपरिषद्मा छानेका कतिपय सदस्यमाथि गलत कार्य गरेको सहितका गम्भीर आरोपहरू लागेका छन् ।
त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्प रक्षात्मक बन्दै आफ्नो बचाउ गरिरहेका छन् । ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुव्र्यवहारको आरोप छ । यद्यपी उनले त्यसलाई अस्वीकार गरेका थिए ।
हेग्सेथमाथि सन् २०१७ मा क्यालिफोर्निआमा एउटा यौन दुव्र्यवहारसम्बन्धी मामिलामा प्रहरीले अनुसन्धान गरेको थियो । फक्स न्यूजका प्रस्तोता पनि रहेका उनले विगतमा अमेरिकी नेशनल गार्डमा सेवा गरेका थिए । त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए । हेग्सेथलाई सन् २०२१ मा राष्ट्रपति जो बाइडनको पदभारग्रहणका बेला वाशिङ्टन डीसीमा अधिकृतका रूपमा सेवा गर्नबाट रोक लगाइएको थियो ।
यस्तै, ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि पनि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो । गेट्ज पनि विवादित छविका व्यक्ति हुन् । कांग्रेस सदस्य हुँदा यौन दुव्र्यवहार गरेको आरोप उनीमाथि छ ।
अमेरिकी न्याय मन्त्रालयको नेतृत्वका लागि ट्रम्पले मनोनयन गरेको केही घण्टाभित्रै उनले अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभको फ्लोरिडा सीटबाट राजीनामा दिएका छन् । संसद्बाट बहिर्गमनले उनीमाथि लागेका यौन दुव्र्यवहार, घुस र अवैध लागुऔषध प्रयोगबारे आरोपहरूको अनुसन्धान गरी तयार पारिएको संसदीय प्रतिवेदन सार्वजनिक गर्न रोकिएको छ ।
फ्लोरिडाबाट सांसद बनेका ४२ वर्षीय उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई सिध्याउनका लागि झूटलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ ।’
स्वास्थ्यमन्त्रीमा छनोट भएका रोबर्ट एफ केनडी जुनिअर कोरोना खोपप्रति आशङ्का गर्ने व्यक्ति हुन् । उनी खोपविरोधीका रूपमा चिनिन्छन् र ट्रम्प मन्त्रिपरिषद्का अर्को विवादित व्यक्ति हुन् । आरएफके जुनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशंका व्यक्त गर्दै र बोल्दै आएका छन् ।
उनलाई स्वास्थ्यमन्त्रीका रूपमा घोषणा गरिएपछि विश्वभरिका खोप निर्माता तथा स्वास्थ्य सेवा दिने कम्पनीहरूको सेयर शुक्रवार व्यापक रूपमा घटेको थियो ।
अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका प्रमुख जर्ज सी बेन्जामिनले स्वास्थ्यमन्त्रीका लागि केनेडी अत्यन्तै गलत मान्छे भएको दाबी गरेका छन् ।
ट्रम्पले आगामी जनवरी २० मा पद सम्हाल्दा उनले छानेका यी व्यक्तिहरूलाई अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ । हुन त सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण छ तर पनि उनको मन्त्रिपरिषद्मा छानिएका व्यक्तिहरूले द्विपक्षीय सुनुवाइका क्रममा व्यापक प्रश्नहरूको सामना गर्नु पर्नेछ ।
प्रतिक्रिया