काठमाण्डु-डोनल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन उनका एक प्रखर समर्थक इलोन मस्कका लागि पनि जित प्रमाणित बनेको छ । मस्क विश्वका सर्वाधिक धनी व्यक्ति हुन् ।
‘अमेरिकाका जनताहरूले @realDonaldTrump लाई सुस्पष्ट जनादेश दिएका छन्,’ आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा ट्रम्पको जित सुनिश्चित देखिएपछि मस्कले लेखेका थिए ।
पाम बीच कन्भेन्शन सेन्टरबाट आफू विजयी भएको घोषणा गर्ने क्रममा ट्रम्पले केही बेर मस्कको प्रशंसा पनि गरेका थिए । ट्रम्पले मस्कको कम्पनी स्पेसएक्सले बनाएको रकेटको सफल अवतरणको प्रसङ्ग पनि कोट्याए ।
जुलाई महिनामा पेन्सिल्भेनिआको बट्लरमा पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास भएपछि मस्क तत्काल उनको पक्षमा आफू उभिएका थिए । मस्क राष्ट्रपति पदमा निर्वाचित भएका ट्रम्पका सर्वाधिक महत्वपूर्ण समर्थक हुन् ।
प्रविधि जगत्का यी अर्बपतिले ट्रम्पलाई पुनः निर्वाचित गराउने उद्देश्यसहित ११ करोड ९० लाख डलरभन्दा बढी चन्दा दिएर ‘सुपर पीएसी’ गठन गरेका थिए । निर्वाचनअघिका अन्तिम केही साता उनले कडा प्रतिस्पर्धा हुने ठानिएका ‘ब्याटलग्राउन्ड स्टेट’हरूमा बिताए । ती राज्यमा उनले प्रत्येक दिन एक मतदातालाई १० लाख डलर पुरस्कार पनि दिए । त्यसविरुद्ध मुद्दा परेको थियो । तर एक न्यायाधीशले त्यसरी पुरस्कार वितरण गर्न पाइने आदेश दिए ।
चुनावको क्रममा नाम, पैसा र आफ्नो मञ्च ट्रम्पको पक्षमा उभ्याएका मस्कले यो मतपरिणामबाट धेरै कुरा पाउन सक्छन् । पहिलो त ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आफ्नो प्रशासनमा ‘सरकारको फोहोर’ हटाउन मस्कलाई जिम्मा लगाएका छन् ।
अर्थात् ट्रम्पले विश्वकै सबैभन्दा धनी मस्कलाई ‘डिपार्टमन्ट अफ गभर्मेन्ट इफिसेन्सी’ (डीओजीई) को प्रमुख नियुक्त गरेका छन् । यो अमेरिकी प्रशासनको नयाँ संस्था हुनेछ । नयाँ गठन गर्न लागिएको उक्त नयाँ निकायले सरकारको खर्च कटौती, नियमावलीहरूमा सुधार र कर्मचारी प्रशासनको समग्र मूल्याँकन गरि चुस्त दुरुस्त बनाउने काम गर्नेछ ।
यो निकायको गठन र मस्कको नियुक्तिसंगै अमेरिकी प्रशासन संयन्त्रका कतिपय पदहरू खारेज गरिने र कर्मचारीतन्त्रमा व्यापक कटौती गरिने आशंका गरिएको छ । किनकी ट्रम्प र मस्क दुवै अहिलेको अवस्थामा कर्मचारीतन्त्रले प्रभावकारी रूपमा सेवा दिन नसकेको र त्यसमा व्यापक काँटछाँटको आवश्यकता रहेको बताउने गरेका छन् । डीओजीई मस्ले चर्चित बनाएको मीम र क्रिप्टोकरेन्सीको पनि नाम हो ।
मस्कले ट्रम्पको राष्ट्रपतीय कार्यकालमा स्पेसएक्समा रहेको आफ्नो स्वामित्वका कारण पनि लाभ पाउन सक्छन् । उक्त कम्पनीले सरकारी भूउपग्रहहरूलाई अन्तरिक्षमा पठाउने व्यवसायमा आफ्नो प्रभुत्व जमाइसकेको छ ।
आफ्ना निकट साझेदार ह्वाइट हाउसमा हुँदा मस्कले आफ्नो निजी सम्बन्ध र सम्पर्क प्रयोग गरी सरकारबाट थप लाभ लिने प्रयास गर्न सक्छन् । मस्कले बोइङजस्ता आफ्ना प्रतिस्पर्धी कम्पनीहरूसँग सरकारले गरेका करारहरूको संरचनाको आलोचना गर्दै आएका छन् । उनका अनुसार त्यस्तो संरचनाले निर्धारित बजेट र समयमा परियोजना सम्पन्न गर्न प्रोत्साहित गर्दैन ।
स्पेसएक्स कम्पनी जासुसी भूउपग्रहहरूको निर्माणमा पनि अघि बढेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र अमेरिकी गुप्तचर निकायहरू त्यसका लागि अर्बौँ डलर लगानी गर्न तयार भए जस्तो देखिन्छ ।
मस्कको विद्युतीय कार निर्माण कम्पनी टेस्लाले ट्रम्पले भन्ने गरेको ‘नियमनको न्यूनतम दायित्व’बाट फाइदा लिन सक्ने देखिन्छ । गत महिना मात्रै सडक सुरक्षाको क्षेत्रमा कार्यरत अमेरिकी नियमनकारी निकायले टेस्लामा प्रयुक्त स्वचालित गुड्ने सफ्टवेअर प्रणालीबारे जाँच भइरहेको बताएको थियो ।
मस्कमाथि टेस्लाका कर्मचारीहरूलाई यूनियन बनाउन रोकेको आरोप लागेको छ । एक्समा ट्रम्पसँग भएको एउटा संवादका क्रममा मस्कले हडताल गर्ने कर्मचारीहरूलाई कामबाट हटाउने बताएपछि यूनाइटेड अटो वर्कर्सले श्रमसम्बन्धी अनुचित व्यवहार गरेको आरोप लगाउँदै दुवै जनाविरुद्ध उजुरी दर्ता गराएको छ ।
ट्रम्पले कर्पोरेशन र धनीहरूप्रति लक्षित कर घटाउने वाचा गरेका छन् । मस्कले त्यो वचन ट्रम्पले सम्भवतः पूरा गर्ने अपेक्षा राखेका छन् । बीबीसीको रिपोर्टमा आधारित
प्रतिक्रिया