राष्ट्रपति डोनाल्ड ट्रम्पले मागे सीमा पर्खालका लागि बजेट, गरेनन् आपतकालको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले मागे सीमा पर्खालका लागि बजेट, गरेनन् आपतकालको घोषणा


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा बढ्दै गएको मानवीय तथा सुरक्षात्मक खतराबाट जोगिनका लागि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन बुधबार बिहान गरेको टेलिभिजन सम्बोधन मार्फत रकमको माग गरेका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिवद्धता सीमा पर्खालका लागि बजेट माग गरेका हुन् । आप्रवासी समस्या समाधानको उपाय सीमा पर्खाल रहेको ट्रम्पले बताउँदै आएका छन् । ओभल कार्यालयबाट गरेको आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि बजेटको माग गरे पनि राष्ट्रिय आपतकालको भने घोषणा गरेनन् ।

यसअघि ट्रम्पले कांग्रेसले सीमा पर्खालका लागि बजेट बिनियोजन गर्ने अवरोध गरेमा राष्ट्रिय आपतकाल लगाएर भए पनि सीमा पर्खाल निर्माण गर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पको सम्बोधनको जवाफमा डेमोक्र्याटिक पार्टीका नेताले पनि टेलिभिजनमार्फत नै त्यसको खण्डन गरेका छन् । डेमोक्र्याटिक पार्टीकी नेतृ तथा हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र सिनेटका माइनोरिटी लिडर चक शुमरले ट्रम्पले अमेरिकी नागरिकलाई बन्धक बनाएको आरोप लगाए ।

उनीहरुले १८ दिनदेखि जारी आंशिक सरकारी कार्यालयको ठप्प कामकाज सुचारु हुने अवस्था बनाउन माग गरेका छन् । सीमा पर्खालका लागि सरकारी कोषबाट रकम छुट्याउनु पर्ने अडानमा रहेका ट्रम्प र त्यसको विक्षमा रहेका सिनेटरबिचको विवादका कारण संघीय सरकारका विभिन्न कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा आंशिक संघीय कार्यालयहरुको काम ठप्प छ ।