ह्वाइट हाउसमा सत्ता हस्तान्तरण प्रक्रिया सुरु

ह्वाइट हाउसमा सत्ता हस्तान्तरण प्रक्रिया सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच निर्वाचन पछि पहिलो पटक भेटवार्ता भएको छ ।

अमेरिकामा निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले एक अर्कासँग हात मिलाएका छन् । बाइडेनले राष्ट्रपति निर्वाचनमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिए । त्यस अवसरमा उनले सत्ताको सहज हस्तान्तरणको विषय पुनः दोहोर्‍याए । राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनेछन् । यसबीच ह्वाइट हाउसमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । बाइडेनले ट्रम्पलाई भेटका लागि निमन्त्रणा पठाएका थिए ।

अमेरिकामा निर्वाचनपछि वर्तमान राष्ट्रपतिले आगामी राष्ट्रपतिसँग ह्वाइट हाउसमा औपचारिक भेट गर्ने चलन रहँदै आएको छ । यो भेटलाई सत्ता हस्तान्तरण प्रक्रियाको सुरुवातका रूपमा हेर्ने गरिएको छ । तर, यसअघि जब डोनाल्ड ट्रम्प २०२० मा जो बाइडेनसँग राष्ट्रपति निर्वाचनमा हारेका थिए, उनले बाइडेनलाई निमन्त्रणा पठाएका थिएनन् ।

प्रथम महिला जिल बाइडेनले ट्रम्प पत्नी मेलानियालाई पनि ह्वाइट हाउसमा निम्तो दिएकी थिइन् । तर, यसपटक मेलानियाले डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउस गइनन् ।

यसअघि पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा तत्कालीन प्रथम महिला मिशेल ओबामाले मेलानिया ट्रम्पबीच भेट भएको थियो । सन् २०१६ मा ट्रम्प र ओबामाबीच ह्वाइट हाउसमा भेट भएको थियो ।

फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफद्वारा फाँसीवादी भएको आरोप खेपेका पूर्व रियालिटी टिभी स्टारसमेत रहेका ७८ वर्षीय ट्रम्पले पहिलेको भन्दा यसपटक धेरै मतान्तरले जित हासिल गरेका हुन् ।