डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि चीनको साथ लिएर स्वदेश फर्किए किम जोङ

डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि चीनको साथ लिएर स्वदेश फर्किए किम जोङ


एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ–उन चीनको अप्रत्यासित भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेता किम जोङ मंगलबार रेल चढेर बेइजिङ्ग पुगेका थिए । उनी चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच दोस्रोपटक वार्ता हुने चर्चा चलिरहेका बेला किमले चीनको आकस्मिक भ्रमण गरेका हुन् ।ट्रम्पसँगको संभावित दोस्रो शिखर वार्ताको सम्बन्धमा सकारात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्न चीन तयार रहेको भेटको क्रममा चिनियाँ राष्ट्रपति सी जिन फिङले बताएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ट्रम्प र किमबीच गत वर्षको जुनमा सिंगापुरमा पहिलोपटक भेटवार्ता भएको थियो र उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । यद्यपि तत्पश्चात् नेता किमको प्रतिबद्धताअनुरुप निशस्त्रिकरण प्रक्रियाले भने गति लिन सकेन ।

किम र ट्रम्पको अबको भेटले दुवै देश र विश्वलाई फाइदा हुने विश्वास राष्ट्रपति सीले लिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको छ । चीन उत्तर कोरियाको प्रमुख कूटनीतिक सहयात्री तथा व्यापारिक सहयोगी हो भने किमको यो भ्रमण एक वर्षयताको चौथो चीन भ्रमण हो ।