दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार


काठमाडौँ – निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आईतबार पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ । आईतबार कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो ।

त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ ।

एक करोड १० लाख कित्ता शेयर सूचीकृत
स्टकका अनुसार आज विभिन्न पाँच कम्पनीको एक करोड १० लाख ७७ हजार कित्ता शेयर सूचीकृत भएका छन् ।
त्यसमा दुई कम्पनीको बोनस शेयर र तीन कम्पनीको हकप्रद शेयर छन् । कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यस्तै, ओम डेभलपमेन्ट बैंक ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् । सूर्याेदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता हकप्रद शेयर र देव विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जनाएको छ । मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।