भूकम्पपछि त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका सिंह योजना आयोगको सदस्य

भूकम्पपछि त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका सिंह योजना आयोगको सदस्य

अशोक राई नेतृत्वको जसपाले गर्‍यो दोस्रो पटक सिफारिस


काठमाण्डु – भुकम्पपछि त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका पूर्वसचिव डा. रमेशकुमार सिंह राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका छन् ।

गत बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा डा. सिंहलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

राई नेतृत्वको जसपाले डा. सिंहलाई योजना आयोगको सदस्यमा सिफारिस गरेको यो दोस्रो पटक हो । डा. सिंह यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को २४ जेठमा बसेको निर्णयबाट योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । त्यसबेला उनी संलग्न रहेको मुद्दा सर्वोच्च अदालतमा जारी रहेको भन्दै योजना आयोगमा पदबहाली भएका थिएनन् ।

पूर्वशहरी विकास सचिव डा. सिंह २०७२ को भूकम्पपछि भूकम्प पीडितहरूका लागि शहरी विकास मन्त्रालयले त्रिपाल खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेका अधिकारी हुन् । त्रिपाल खरिद काण्डमा भ्रष्टाचार आरोप लागेपछि त्रिपाल आपूर्ति गरेका माता इन्टरप्राइजेज, ए.एस. इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स र अजय शुभ ट्रेडर्सलाई भुक्तानी प्रक्रिया रोकिएको थियो ।

विशेष अदालतले उनीहरुलाई सफाइ दिँदै मुद्दा किनारा लागे पनि शहरी विकास मन्त्रालयले त्रिपाल आपूर्तिको भुक्तानी नदिएपछि आपूर्तिकर्ताहरू मन्त्रालयविरुद्ध उच्च अदालत पुगेपछि सो मुद्दामा उच्च अदालत पाटनले तीन महिनाभित्र रकम भुक्तानी गर्न र यदि भुक्तानी नगरे पाँच सय रुपैयाँ जरिवाना हुने आदेश दियो ।

उच्च अदालतको सोही आदेशविरुद्ध तत्कालिन सहरी विकास सचिव डा.सिंह सर्वोच्च अदालत गएकामा सो मुद्दा अहिलेसम्म विचाराधिन रहेकाले उनलाई योजना आयोगमा नियुक्ति दिनु कानुनसम्मत नहुने तर्क कानुनविद्हरूको छ ।