कानुनविपरीत पेट्रोलियम ढुवानी गर्ने चालकहरूको हडतालले नागरिकलाई सास्ती

कानुनविपरीत पेट्रोलियम ढुवानी गर्ने चालकहरूको हडतालले नागरिकलाई सास्ती


काठमाण्डु – नेपालको विद्यमान कानुनविपरीत नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि नागरिकले सास्ती व्यहोर्नु परेको छ ।

उपत्यकाका पेट्रोलपम्पहररूमा सवारी साधनको चर्को लाइन देखिएको छ । कार्यालय जान वा अन्य काममा जान आफ्नो सवारी लिएर निस्किएका नागरिकहरू पेट्रोलियम पदार्थ नपाउँदा लाइनमा बस्न बाद्य भएका छन् ।

सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि उपत्यकामा अभाव अभाव देखिएको छ ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राख्दै यी सेवामा बन्द तथा हडताल गर्न बर्जित गरेको छ । कानुनी व्यवस्थाको उल्लंघन गर्दै ट्यांकर चालक संघमा आवद्ध चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले आन्दोलन गर्ने चालक र सहचालकहरूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको जानकारी दिए । ‘आन्दोलनरत पक्षसँग छलफल थालेका छौँ । आज बेलुकासम्ममा केही निष्कर्ष आउला,’ उनले भने ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा आवद्ध पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालकहरूले आयल निगममा लामो समयदेखि आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको बताएका छन् ।

उनीहरूले सम्पूर्ण ट्यांकर चालक÷सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग संघमार्फत निगम समक्ष राखेको बताएका छन् ।

त्यस्तै,‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग पनि उनीहरूको छ ।

चालकहरूले संघमार्फत गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएका थिए । साथै सात बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरुपमा काम छोडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थिए ।

उनीहरूले अल्टिमेटम दिएको समयमा माग पूरा नभएपछि काम ठप्प पारेका हुन् । चालकहरूले पेट्रेल बोकेका गाडीहरू थानकोटबा६ भित्रिन दिएका छैनन् ।