दुबईकी रानी हयाले गरिन लण्डनमा पति शेखसँग सम्बन्धविच्छेदको मुद्धा दर्ता

दुबईकी रानी हयाले गरिन लण्डनमा पति शेखसँग सम्बन्धविच्छेदको मुद्धा दर्ता


एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) की रानी हया बिन्त अल हुसैनले पति एवम् युएईका प्रधानमन्त्री तथा अर्बपती शेख मोहम्मद बिन राशिद अल मकतूमसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् ।

यसका लागि उनले लण्डनको हाईकोर्टमा निवेदन दिएकी छिन् । यो मुद्दालाई अब ब्रिटेनका दुई सबैभन्दा ठूला वकिलले लड्ने भएका छन् । सम्बन्धविच्छेदको विषयमा सुनुवाई अघि मंगलबार रोयल कार्ट अफ जस्टिसमा राजकुमारी हया पुगेकी थिइन् । त्यहाँ उनले ‘जबर्जस्ती विवाह संरक्षण आदेश’ का लागि निवेदन दिइन् ।

मंगलबार यसको प्रारम्भिक सुनुवाईको क्रममा न्यायाधीशले मिडियालाई राजकुमारी हयाले आफ्ना बच्चाको अभिभावकत्वका लागि निवेदन दिएको भन्ने जानकारी संकलन गर्न अनुमती दिएका थिए । शेख मोहम्मद भने मंगलबारको सुनुवाईमा उपस्थित थिएनन् ।

शेख मोहम्मदकी श्रीमती राजकुमारी हया आफ्ना श्रीमानलाई छोडेर दुबईबाट भागेको खबर सार्वजनिक भएपनि संसारभरी हंगामा मच्चिएको थियोे । यसअघि राजकुमारी हयाले ३१ मिलियन पाउन्ड लिएर दुबईबाट भागेकी समाचार बाहिर आएको थियो ।

हया बिन्त अल हुसैन शेख मोहम्मदकी छैटौं श्रीमती थिइन् । हया बिन्त अल हुसैन जोर्डनका राजा किंग अब्दुल्लाहकी बहिनी हुन् ।