काठमाण्डु– तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू देश छोडेर नभागेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफू नेपालभित्रै रहेको बताएका हुन् ।
उनले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै सार्वजनिक हुने बताए ।
उनले भने ‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु,’ प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, ‘मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।’
उनले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको पनि बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूलाई राजावादी पार्टीको नेता बताउने एक जना मिलेर उक्त षड्यन्त्र रचिएको उनले आरोप लगाए ।
त्यस्तै आफू आएपछि चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जन र सुरेश रजकका परिवारलाई ५-५ लाख रुपैयाँ दिने पनि प्रसाईंले घोषणा गरेका छन् ।
उनले आफू नेपालीहरूको लिडर बन्न चाहेको पनि उल्लेख गरेका छन् उनले भने- ‘भिजन र यात्रा एक व्यक्तिबाटै सुरु हुन्छ । दुर्गा प्रसाईं भनेको विचार हो । हरहर दुर्गा घरघर दुर्गा हुन्छ । म रहेँ भने यो जनविद्रोह सफल हुन्छ । नभए जनविद्रोह दबिएर जान्छ । म पेरुको गोन्जालो बन्न चाहन्नँ । गोन्जालोलाई पक्रेर मारियो । त्यसपछि पेरुको जनविद्रोह सकियो । म नेपालीहरूको लिडर बन्न चाहन्छु ।’
प्रतिक्रिया