काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध मुद्दा दर्ता भएको छ ।
उनीहरुलाई संगठित रुपमा आपराधिक लाभ लिएको आरोप रहेको छ ।
उनीहरुले भारतीय नम्बरबाट लरेन्स विश्नोई ग्याङको नामलिएर राष्ट्र बैंकका उच्च अधिकृतहरु र अन्य व्यवसायीहरुलाई धम्की दिएका थिए ।
राष्ट्र बैंकले धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो भने अन्य दुई व्यवसायीले प्रहरी कहाँ निवेदन दिएका थिए ।
भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको एक व्यवसायीले उजुरीमा उल्लेख गरेका छन् ।
फुयाँललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनले दुर्गा प्रसाईँकै योजना र आदेश बमोजिम आफूले विभिन्न व्यक्तिलाई धम्क्याएको बयान दिएका छन् ।
प्रसाईँलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा प्रहरीले पक्राउ गरेकोमा अदालतबाट धरौटीमा रिहा भएका थिए । अर्का प्रतिवादी मैनाली भने फरार रहेका छन् ।
प्रसाईँ र उनको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई धम्क्याएको अडिओ अदालतमा पेश भएको छ । त्यसबाहेक अन्य व्यवसायीको समेत निवेदन परेको सिआइबीले जनाएको छ ।
प्रतिक्रिया