काठमाण्डु- शुक्रबार भएको राजावादीको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । तीनकुनेमा प्रदर्शनकारीहरूलाई उस्काउँदै तीव्र गतिमा आफैले गाडी चलाएर भागेका उनी त्यसपछि सम्पर्कमा आएका छैनन् ।
तर, राति अबेरसम्म उनले सामाजिक सञ्जालमा भने अपडेट गरेको पाइएको छ ।
यता प्रदर्शनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित पक्राउ परेका छन् । उनीहरूलाई शुक्रबार राति घरबाटै पक्राउ गरिएको थियो ।
राजसंस्था पुनस्र्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी वृद्ध भएका कारण घरमै नजरबन्दमा राखिएको छ भने समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पुतलीसडकबाट पक्राउ गरिएको छ । तोडफोड र आगजनीमा संलग्न प्रदर्शनकारी र नेतासहित शुक्रबार रातिसम्म ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंलाई पक्राउ गर्न विभिन्न स्थानबाट प्रहरी टोली खटाइएको छ । यसअघि प्रसाईंले ‘प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउँछु’ भनेका थिए ।
गृह मन्त्रालयले उनलाई शुक्रबार भएको आगजनी, लुटपाट र अराजकताको घटनामा प्रमुख दोषी मानेको छ । साथै, सरकारले उक्त घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको छ ।
सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेको गृह मन्त्रालयका सह सचिव छवि रिजालले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।
प्रहरीका अनुसार प्रसाईँ भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि शनिबार बिहानसम्म फेला परेका छैनन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको बताएका छन् ।
शुक्रबारको घटनाको मुख्य योजनाकार प्रसाईँ नै भएको विभिन्न प्रमाणमा देखिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया