काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ । फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक मंगलबार पक्राउ परेका प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाट पक्राउ गरेका प्रसाईंलाई लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान गर्न सुरु गरिएको छ ।
सीआईबी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले तत्काल विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । थापाले उनीविरुद्ध अरू कसुरमा पनि जाहेरी रहेको बताए ।
प्रसाईंले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कम्बोडियामा २० करोड डलर लगानी गरेको गम्भीर आरोप लगाएका थिए।
प्रसाईं विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीविरुद्ध प्रसाईंले भिडियोमार्फत कागजात देखाउँदै आरोप लगाएका थिए ।
फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ ।
सो ऐनको दफा ३०६ अनुसार कसैले कसैको बेइज्जती गरेको कसुर पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेको पाइएमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था रहेकाले त्यसमा पनि अनुसन्धान गरेर मुद्दा लैजाने तयारी प्रहरीको छ ।
मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न नपाइँने व्यवस्था रहेकाले उनलाई आपराधिक उपद्रव विरुद्धको अभियोग लगाउन अनुसन्धान हुन सक्छ ।
मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको प्रहरी स्रोतले बतायो । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुने व्यवस्था कानुनमा छ ।
मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
प्रतिक्रिया