दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा साढे ७ वर्ष कैद सजाय माग

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा साढे ७ वर्ष कैद सजाय माग


काठमाण्डु – झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गको कसुरमा साढे ७ वर्षको कैद सजाय माग भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको साइबर ब्यूरोको सिफारिसमा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँ बुधबार काठमाडौं जिल्ला अदालतमा साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

साइबर ब्यूरोले बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको हो ।

प्रसाईं यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भएकाले थप सजाय समेत मुद्दामा माग गरिएको छ । पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुरुप प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको जिल्ला सरकारी वकिललको कार्यालय काठमाडौँले जनाएको छ ।

प्रसाईंविरुद्ध दायर भएको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा पेसी तोकिएको छ । आज अदालतमा प्रसाईंको बयान गरेपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश न्यायाधीशबाट हुनेछ ।

प्रसाईंले जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानमा साइबरको कसुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारको बयान दिएका छन् । कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईंले बयानमा उल्लेख गरेका छन् ।