सरकारले जापानका लागि नेपाली राजदूत सुवेदीलाई फिर्ता बोलाउने

सरकारले जापानका लागि नेपाली राजदूत सुवेदीलाई फिर्ता बोलाउने


काठमाण्डु – सरकारले जापानका लागि नेपाली राजदूत दूर्गाबहादुर सुवेदीलाई साउनमा फिर्ता गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सुवेदीलाई सेवा अवधि सकिएसंगै फिर्ता बोलाउन लागिएको हो ।

सुवेदीको सहसचिवको सेवाअवधिले साउन २१ मा अवकाश पाउन लागेका छन् । उनलाई जापानबाट फिर्ता बोलाएर अवकाश नहुने बेलासम्म अरु जिम्मेवारी दिने सम्भावना रहेको परराष्ट्र मन्त्रालय निकट स्रोतले जानकारी दियो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरे पनि अन्तिममा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको जोडवलमा सुवेदीको थमौती भएको थियो । त्यहीबेला नै सुवेदीलाई अवकाशपछि फिर्ता बोलाउने सहमति भएको थियो । सुवेदी शक्तिकेन्द्रहरुसंग सुमधुर सम्बन्ध बनाउन माहिर डिप्लोम्याट मानिन्छन् ।

राजदूत सुवेदी बेलायतमा चार वर्ष राजदूत भएर फर्केलगत्तै जापानमा राजदूत नियुक्त भएका थिए । उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा निकट मानिन्छन् । तर, यसपटक मन्त्री राणा पनि उनलाई फिर्ता गर्नेमा रहेको स्रोत बताउँछ ।

दुवै दलका शिर्ष नेताहरुबीच चीन, रसिया, जापान र अष्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ । उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले र भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसले राजदूत पाउने सहमति भएको छ ।

भारतमा शंकरदाश वैरागी, चीनमा लोकदर्शन रेग्मी र अमेरिकामा चन्द्र घिमिरे राजदूत बन्ने पक्कापक्की जस्तै छ ।