दुर्गेशकाे बयान- पैसाको बार्गेनिङबारे थाहा भएन, पीडितलाई सल्लाह दिएकाे हो

दुर्गेशकाे बयान- पैसाको बार्गेनिङबारे थाहा भएन, पीडितलाई सल्लाह दिएकाे हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई प्रहरी हिरासतमा राखिएको छ । नाबालिग गायिकामाथि बलात्कारको आरोपमा प्रहरीले घटना भएको भनिएको होटलका सञ्चालक र कर्मचारीदेखि पल शाहसँगै सुटिङमा पुगेका व्यक्तिसँग पनि बयान लिएको छ ।

पलले बयानमा आफूले करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पीडीतले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच विवाद भएको जाएका छन् ।

बयान दिनेमध्ये दुर्गेश भन्ने दुर्गाबहादुर थापाले गत असारमा मात्रै घटनाबारे जानकारी पाएको बताएका छन्। अन्यले भने किटानी जाहेरी परेपछि मात्रै त्यसबारेमा थाहा पाएको बयान दिएका छन्।

बयानमा दुर्गेशले म्युजिक भिडियोमा काम गर्ने शिलशिलामा पल शाह र पीडित नाबालिगसँग चिनजान भएको बताएका छन्। २०७७ चैत ७ गते चितवनको सौराहा पुगेका दुर्गेशले पल र पीडितसहितको टिमसँग त्यहीँ भेटेका थिए । ‘तामा पित्तलु’ गीतको भिडियो सुटिङ सकेर बेलुका सुटिङ युनिट गैँडाकोटको रिसोर्टमा पुगेका थिए। ‘दिनभर सुटिङको कामले थाकेको हुँदा म कोठामा गइ सुतेको हो । पीडित पनि उनको कोठामा सुत्न गइन् । पल शाहलगायत व्यक्ति मादक पदार्थ पिएर बाहिरै बसिरहेका थिए ।  निजहरु कुन कोठामा सुते मलाई थाहा भएन’, दुर्गेशले बयानमा भनेका छन्। तर त्यसको भोलिपल्ट बिहान दुर्गेश काठमाण्डु फर्किएका थिए ।

‘सो सम्बन्धमा पीडितसँग बुझ्दा मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले विवाह गर्छु भनि फकाई फुल्याइ सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा म सम्राट चौलागाईं, सरोज ओली र योगेश काजी समेतले हामी न्यायको पक्षमा छौँ । तिमीलाई निजले जबरजस्ती करणी गरेको भए कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको मात्रै हो’, दुर्गेशले बयानमा भनेका छन्।

उक्त घटनामा दुर्गेशमाथि पलसँग रकम बार्गेनिङको समेत आरोप लागेको थियो। तर दुर्गेशले त्यसलाई अस्वीकार गरेका छन्। ‘आर्थिक कुराको बार्गेनिङबारे मलाई केही जानकारी भएन’, दुर्गेशले भनेका छन्।