काठमाण्डु- म्यानमारमा आएको भूकम्पमा मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
समाचार संस्था सीएनएनका अनुसार भूकम्पका कारण १,६७० जना घाइते भएका छन् ।
भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य भइरहेको छ । भूकम्पले म्यानमारमा भवन, पुल, सडक भत्किएका छन् । म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
चिनियाँ विपद् प्रतिकार्य ३७ जनाको टोली पुगेको छ । टोली एक सय १२ सेट आपतकालीन उद्धार सामग्रीसहित पुगेको हो । सैन्य सरकारले देशका ६ ठाउँमा आपत्कालीन अवस्था घोषणा गरेको पनि जानकारी दिएको छ ।
कुनै पनि देश या संस्थालाई सहयोग खुला गरिएको बीबीसीले जनाएको छ । यस्तै थाई प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले आपतकालीन अवस्था घोषणा गरिएको बताएका छन् ।
म्यानमारमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ । म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
उद्धार जारी रहेकाले मृतकको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ । यस्तै, शनिबार बिहान अफगानिस्तानमा लगातार दुईपटक भूकम्प गएको छ ।
त्यहाँको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ थियो ।
दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटरमुनि थियो । पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो ।
प्रतिक्रिया