काठमाण्डु-आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यसपटक ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।
१९९० साल माघ २ गतेको महाभुकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । नेपालमा मात्रै साढे आठ हजार जना भन्दा धेरैको ज्यान लिएको १९९० सालको भूकम्पबारेमा धेरै अभिलेखहरू पाइदैन ।
अहिलेको पुस्ताले भोगेको विनासकारी भूकम्प २०७२ सालको हो । यो भूकम्पमा पनि झण्डै नौ हजार नागरिकले ज्यान गुमाएका थिए । भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
अझै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ तर्जुमा गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताउँछन् ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन् ।
पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीको भनाइ छ । कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरु अस्थायी आवासमै कष्टपूर्ण रुपमा बस्नु परेको उनले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सात सय ८७ रहेको जनाएको छ ।
भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपदबाट क्षति पुगेका विभिन्न संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना योजनाको कार्यान्वयनका लागि एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
नेपाल विश्वका अरु देशहरुको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं स्थानमा रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् । तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरु आपसमा टकराब हुँदा हिमालय क्षेत्रको जमिनमुनी शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरु बताउँछन् ।
एक पटक ठूलो भूकम्प गएपछि त्यहाँ शक्ति संचय हुन समय लाग्ने विज्ञहरु बताउँछन् । विज्ञहरुले नेपालको पश्चिमी क्षेत्रमा भूकम्प नगएको लामो समय भएकोले उच्च जोखिम रहेको बताइरहँदा पछिल्ला केही वर्षदेखी पश्चिमी क्षेत्रमा भुकम्प जाने क्रम बढेको छ । जाजरकोट, डोटी, बझाङ लगायतका जिल्लामा गएका भूकम्पले पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम रहेको जनाउँछ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा.भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिएका छन् ।
गएको आइतवार बसेको विपद् राष्ट्रिय परिषद्को १६ औं बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चातको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया