शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान


पाल्पा – सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसंगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् ।

जिल्लाको बगनासकाली गाउंपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउंपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

बगनासकाली गाउंपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए । गाउंमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन, केही विदेशमा श्रम गरिरहेका छन, अब गाउंमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम शुरु गरेका हौं” बस्यालले भने ।

युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम सात लाखबाट ऋण उपलब्ध गराइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई रु चार लाख रकम उपलब्ध गराइएको छ ।

बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख ऋण प्रदान गरिएको गाउंपालिकाले जनाएको छ । बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि एक लाख ऋण लिनुभएको छ । सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि एक लाख ऋण पाए । यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख ऋण गाउंपालिकाले उपलब्ध गराएको छ ।

बगनासकाली गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरी ऋण प्रदान गरिएको बताए ।गाउंपालिकाले दिएको ऋणबाट तीन महिनाभित्र काम शुरु हुनुपर्ने छ भने दुई वर्षसम्म ब्याज तिर्नु पर्दैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि यहांका युवा हर्षित भएका छन् ।