काठमाडौं–उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन गरिएको छ।
मन्त्रिपरिषद्को भदौ १९ गतेको बैठकको निर्णयअनुसार प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न आयोग गठन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता एवं आयोगका सदस्यसचिव डा. हरि लम्सालले जानकारी दिए।
आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधर र धनीराम पौडेल, सांसद्हरु जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डा शिवजी यादव, जंगीलाल राय यादव, रुक्मिणी चौधरी, शिक्षाविद् केदारभक्त माथेमालगायत रहेका छन्।
आयोगमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु सदस्य छन् भने केही सदस्य मन्त्रालयले पछि मनोनयन गर्नेछ। आयोगले पाँच महिनाभित्र संघ, प्रदेश र स्थानीय तहकाका अनुकूलका शिक्षा नीति, कार्यक्रम र संगठन, स्वरुप एवं सुधारसम्बन्धी प्रतिवेदन दिनेछ।
प्रतिक्रिया