काठमाण्डु – निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेका जनाइएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ ।
गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको आयोगका प्रवक्ता सहसचिव रघुराम विष्टले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तसर्थ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ ।’
आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकोमा विश्वस्त हुँदै आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
यी हुन् उपनिर्वाचन हुने पदहरू :
प्रतिक्रिया