उपनिर्वाचन : ४ गाँउपालिका उपप्रमुखमा पुरुषले उम्मेद्‌वारी दिन नपाउने

उपनिर्वाचन : ४ गाँउपालिका उपप्रमुखमा पुरुषले उम्मेद्‌वारी दिन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाँउपालिकाको उपप्रमुखमा पुरुषले उम्मेदवारी दिन नपाउने भएका छन् । ती गाँउपालिकाका प्रमुखमा निर्वाचित पुरुषहरू पदमा बहाल रहेकाले उपप्रमुखमा पुरुषले उम्मेदवारी दिन नपाउने भएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरुष प्रमुख भएका यी चार गाँउपालिकामा राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उमेद्‌वार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको जानकारी दिए ।

‘रिक्त पदमध्ये अर्को पदमा पुरुष जनप्रतिनिधी भएमा महिलाको उम्मेद्वारी मात्रै स्विकार्ने निर्णय भएको छ’ प्रमुख आयुक्त थपलियाले भने, ‘दलहरुबाट हुने उम्मेद्‌वारीलाई अनिवार्य गरिएको यो व्यवस्था स्वतन्त्र उम्मेद्वारहरुको हकमा भने लागू हुनेछैन ।’

उपनिर्वाचनमा ७ स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका ठाँउमा भने यो व्यवस्था अनिवार्य हुनेछैन ।

स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७(४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिँदा पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमा समेत अनिवार्य हुने गरी निर्वाचन आयोगले नीतिगत व्यवस्था गरेको हो ।