उपनिर्वाचन : दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो

उपनिर्वाचन : दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो


काठमाण्डु – आज भइरहेको स्थानीय तह उपनिर्वाचनमा दिउँसो दुई बजेसम्म ५० प्रतिशत मत खसेको छ । मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार बिहान ७ बजेबाटमतदान सुरु भएको थियो ।

निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले ५० प्रतिशत बढी मत खसेको जानकारी दिएकी हुन् । निर्वाचन आयोगले सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको जानकारी दिएको छ ।

६० प्रतिशत बढी मत खस्ने अनुमान आयोगको छ । उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।