काठमाण्डु – निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि २०८१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमबमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई विक्रम संवत् २०८२ वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भएको हो ।
कार्यक्रमबमोजिम मतदाताको प्रारम्भिक नामावली आयोगको वेबसाइटमा प्रकाशन भएको छ । नामावलीवाट अद्यावधिक कार्यसम्पन्न भएपछि २०८२ वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन, कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन विक्रम संवत् २०८२ वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
अद्यावधिक कार्यक्रम बमोजिम अनलाइनमार्फत निवेदन पेश गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले प्रेस विज्ञप्तिमार्फत जनाएकी छन् ।
कार्यक्रममा नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने समेत आयोगले जनाएको छ ।
प्रतिक्रिया