काठमाडौं– आगामी माघ २४ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम ती ठाउँहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
आयोगमा प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा दीपायलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन्।
क्षेत्रीय निर्वाचन कार्यलय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले माघ २४ गते हुने निर्वाचनमा १ नं प्रदेश अन्तर्गत १४ जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदसहित ४३५ मतदाता रहेका छन्।
यस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ६० नगरपालिका, १०८ गाउँपालिका रहेका छन्। राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन पाउने व्यवस्था रहेको छ।
हालैमात्र सम्पन्न प्रदेशसभा निर्वाचनबाट निर्वाचित ५६ र बाँकी समानुपातिकतर्फ गरी जम्मा ९३ जना प्रदेश सभासद निर्वाचनमा सहभागी हुन पाउनेछन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १ नं प्रदेशवाट आठजना निर्वाचित हुनेछन् जसमा खुल्ला तर्फ तीन, महिला तीन र दलित एक आरक्षित रहनेछन्। त्यसमा अन्य थप तीनजना मनोनित हुने व्यवस्था छ।
निर्वाचनका लागि २१ राजनीतिक दलले दल दर्ता गराएका छन्।
प्रतिक्रिया