तीनै तहको चुनाव सकिएपछि प्रधानमन्त्रीले भने, ‘नागरिकमा आशा जगाएको छ’

तीनै तहको चुनाव सकिएपछि प्रधानमन्त्रीले भने, ‘नागरिकमा आशा जगाएको छ’


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहको निर्वाचनले नागरिकमा आशा जगाएको बताएका छन्।

 

 

 

प्रधानमन्त्री देउवाले बिहीबार विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद समेत दिएका छन्।

 

 

विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रधानमन्त्रीले निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको बताए।

 

‘प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु,’ उनले भनेका छन्।

 

निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको र मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्ग प्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई यसले स्थापित गर्ने देउवाको विश्वास छ।