तारजालीको घेराभित्र मतगणना, तालिम प्राप्त कुकुर परिचालन

तारजालीको घेराभित्र मतगणना, तालिम प्राप्त कुकुर परिचालन


काठमाडौं–प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहको मतगणना जारी रहेको छ।

 

 

निर्वाचन आयोगले म‌ंगलबार विज्ञप्ति जारी गरी प्रदेश नम्बर २ को राजविराजबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको जनाएको हो।

 

 

प्रदेश २ मा १ सय ३६ स्थानीय तह रहेकोमा राजविराज नगरपालिकाको भने वडा नम्बर १५ का वडा अध्यक्षका उम्मेदवारको निधन भएकाले सोमबार चुनाव भएको थिएन । राजविराजमा असोज ५ गते चुनाव हुने भएको छ ।

 

 

मतगणनामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

यसअघि भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनालाई पाठको रुपमा लिँदै प्रदेश नम्बर २ का धेरै मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ।

 

 

 

निर्वाचन आयोगका अनुसार वीरगञ्ज महानगर, जनकपुर उपमहानगरसहितका क्षेत्रमा तारजालीको प्रयोग गरिएको छ। मतगणनाका क्रममा दलीय प्रतिनिधि तारजाली बाहिर छन् गणक कर्मचारी तारजालीभित्र रहेका छन्। मतपत्र मतपेटिकाबाट खन्याउने काम समेत तारजालीभित्र भइरह्को छ।

 

 

 

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुरमा दलीय प्रतिनिध बसेका व्यक्तिले नै मतपत्र च्यातेका थिए। जसका कारण पुनः निर्वाचन समेत गर्नु परेको थियो।

 

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई सुरक्षाका सम्पूर्ण उपाय अपनाउन भनेकाले मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

 

मतगणनास्थलमा तालिमप्राप्त कुकुर

 

सप्तरीका मतगणनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।

 

 

 

सप्तरीमा १८ स्थानीय तहमध्ये १७ मा निर्वाचन भएकोमा सबै तहको मतगणना जारी रहेको र सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए। सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रजिअ पाण्डेले शुभदिनलाई बताए।

 

 

‘केही मतदान स्थलमा तारजालीको पनि प्रयोग गरिएको छ। सुरक्षा व्यवस्था चुस्त छ,’ उनले भने, ‘सम्भावित घटनालाई मध्येनजर गर्दै तालिम प्राप्त कुकुर परिचालन गरेका हौं।’

 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेकको छ।

 

 

तस्बिरः बीबीसी नेपाली सेवाबाट साभार।