डोटी- जिल्लास्थित दुर्गम स्थानीय तहका बासिन्दा ८० को विद्युत् महसुल तिर्न र २ हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टौं टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ।
शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भने, ’गाउँमा तीन महिनामा एक पटक विद्युत्को मिटर रिडिङ हुने गरेको छ। ती तीन महिनाको रू ८० देखि १०० मात्रै बिलको रकम आउने गरेको छ।’ त्यसरी आएको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानुपर्ने हुँदा २ हजारभन्दा बढी रकम खर्च हुने गरेको मुडभाराका सेवाग्राही गणेश महराले गुनासो गरे।
’बिलको रकम कमै हुन्छ, त्यो रकम तिर्न घण्टौँ हिँडेर दिपायल जानुपर्छ, गाडी भाडा र ५ सय र होटेलमा बास बसेको खाना खाएको गरी कूल २ हजारभन्दा बढी रकम खर्च हुने गर्दछ’, उनले भने, ’एकै दिनमा विद्युतको बिल भुक्तानी गर्न नसकिने र पालो कुर्नुपर्ने अवस्थाका कारण सेवाग्राहीलाई झनै समस्या हुने गरेको छ।’
जिल्लाका ग्रामीण क्षेत्र कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागयत क्षेत्रमा विगतमा विद्युत् महसुल बुझाउने काउण्टर खोलिएका भए पनि विद्युत कार्यालयले कर्मचारी अभाव भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि सेवाग्राहीलाई समस्या भएको हो।
दिपायलस्थित विद्युत् सबस्टेसन प्रमुख भरत द्वारीयाले कर्मचारी अभाव भएकाले गाउँमा भएका काउण्टर दिपायल तथा सिलगढी सार्नुपरेको बताए। उनले भने, ’कर्मचारीको अभाव भयो काउण्टर सार्नुपर्यो, क्षेत्रीय अफिस अत्तरियाले नयाँ कर्मचारी राख्न आदेश दिएको छैन, ग्राहकलाई समस्या भएको छ।’
यहाँका ग्रामीण क्षेत्रमा विद्युत् महसुल बुझाउने काउण्टर विस्थापित गरिएपछि सेवाग्राहीलाई महशुल बुझाउनका लागि निकै झण्झट र खर्च बढेको गरेको शिखर नगरपालिका–१ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताए।
उनले भने, ’विद्युत् महसुल बुझाउनका लागि सेवाग्राहीलाई समस्या भएकाले हामीले पुनः काउण्टर राख्न पहल गरिरहेका छौँ।’ ८० बिल तिर्न २ हजार बढी खर्च हुन थालेपछि डोटीका सेवाग्राही विद्युत् कार्यालयसँग आक्रोसित समेत बनेका छन्।
प्रतिक्रिया