सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न

सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न


काठमाण्डु – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३ वटा ३३ केभीका र चारवटा ११ केभीका फिडर निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका २÷२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रुपमा विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टसन सञ्चालनमा आएपछि मुख्य रुपमा गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुकासाथै प्राविधिक चुहावट पनि कम हुने बताए ।

‘३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन बिच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेजलगायतको समस्या थियो, अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ’, उनले भने ।

बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घार्खाची र गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेज समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो ।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी २०७८ चैतबाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । बुटवलबाटभन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भएता गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन । अब तम्घास सबस्टेसनबाट विद्युत् आपूर्ति दिंदा लाइन छोटो हुनेहुँदा त्यस क्षेत्रको विद्युत् आफूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत नै कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजनाअन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङको बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसन निर्माणाधीन छन् ।

दुवै सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा छ । रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजना प्रमुख मनोज चौधरीले बताए । उनले तम्घास– पाउदी अमराई प्रसारण लाइनका सबै टावर निर्माण भइसकेको र रुख कटानको स्वीकृति नपाउँदा तार तान्न नसकिएको बताए । यसले गर्दा पाउदी अमराई सबस्टेसन सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना सुरु गरिएको थियो । उक्त प्रसारण लाइनमा जोड्ने गरीे निजी क्षेत्रका ७ वटा जलविद्युत आयोजनाहरुसँग १३० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएको छ ।