डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय

डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय


काठमाण्डु – डेडिकेटेड र ट्रंक लाइन विवादमा लाइन काटिएका ६ उद्योगमा नेपाल विद्युत् प्राधिकरणले लाइन जोडिदिने भएको छ । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलमा लाइन काटेको थियो ।

प्राधीकरण सञ्चालक समितिले आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।

प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने फरक मत राखेको निकटस्थ स्रोतले जानकारी दियो । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिए पनि घिसिङले अवज्ञा गरेका थिए ।

आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको बताउँदै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो ।