रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍यायो

रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍यायो


म्याग्दी – रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको  ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुर्‍याएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले रेलेखोलामा आएको बाढीले इन्टेक पुुरिँदा भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए ।

दुई वर्षअघि निर्माण सुरु भएको आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो । करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुर्‍याएको क्षतिका कारण परिक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिए ।

भट्टराईले बाँध, पाइपलाइन, विद्युत्गृह निर्माण सकिएको आयोजनाको उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँध बनाएको थियो । बाँध नजिकै ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी डिसेण्डर निर्माण भएका छन् ।

बाँधबाट विद्युत्गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान सकिएको इञ्जिनियर भट्टराईले बताए । विद्युत्गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।