उर्जामन्त्रीको चीन भ्रमण : जलविद्युत आयोजना र प्रशारण लाइन अघि बढाउनेमा केन्द्रित  

उर्जामन्त्रीको चीन भ्रमण : जलविद्युत आयोजना र प्रशारण लाइन अघि बढाउनेमा केन्द्रित  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भएको छ । चीनले अघि सारेको वान वेल्ट वान रोडको उर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसंग शुक्रवार उपमन्त्री लियाङ्गले भेटवार्ता गर्नुभएको हो ।

लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन । उनी त्यसका साथै चीनको वित्तिय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन् । भेटवार्तामा आपसी हित र उर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको थियो । 

द्धिपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजवुत वन्ने धारणा राख्नुभयो । नेपालमा लामो समयपछि दुई तिहाईको सरकार बनेको भन्दै उहाले त्यसमा चीनको सहयोग र सद्भावको खांचो रहेको बताउनुभयो ।

मन्त्री पुनले चिनियां उपमन्त्रीसंग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेशनमा भएको सम्झौता ऐतिहासीक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सजिलो हुने धारणा राख्नुभयो ।  

उहाले गत महिना बंगलादेशसंग समेत इनर्जी कोअपरेशनमा सम्झौता भइसकेको भन्दै त्यसले क्षेत्रीय बजार विस्तारमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाले बंगलादेशले नेपालमा उत्पादन भएको विजुली खरिद गर्न ईच्छा व्यक्त गरेको जानकारी समेत दिनुभयो । 

मन्त्री पुनले गत सेप्टेम्बरमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक बसिसकेको जानकारी दिंदै दोस्रो वैठकको मिती समेत छिट्टै तय गर्न आग्रह गर्नुभयो । संयन्त्रको पहिलो बैठक आफैमा ऐतिहासीक बनेको भन्दै त्यसमार्फत दुवै देशले उर्जा क्षेत्रमा सहकार्य गर्न सजिलो हुने मन्त्री पुनको धारणा थियो ।  

वैठकमा मन्त्री पुनले नेपाल चीनबीच अघि बढेको अन्र्तरदेशिय प्रशारण लाइन र जलविद्युत परियोजनाहरुको बारेमा छलफल थियो ।  मन्त्री पुनले ४ सय केवीको काठमाडौं केरुङ अन्र्तदेशिय प्रशारण लाइन, कोशी कोरीडोर,कर्णाली कोरिडोर र भेरी कोरिडोर, किमाथांका, फुक्कोट कर्णाली र तमोर जलविद्युत परियोजना नेपालको प्राथमिकतामा रहेको भन्दै उहाले त्यसमा चीन सरकारको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । उक्त परियोजना सरकारले चीनसमक्ष यसअघि नै प्रस्ताव गरिसकेको छ ।

छलफलमा सोफ्ट लोन, कमर्सियल लोन र विआरआई फण्डमार्फत गर्न सकिने लगानीका सम्भावना वारेमा समेत छलफल भएको थियो ।  नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनियां लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिंदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गर्नुभयो । 

भेटमा चिनियां मन्त्री लियानले नेपालसंग भएको इनर्जी कोअपरेशनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिनुभयो । मन्त्री लियानले भेटमा नेपाल चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासीक भएको भन्दै त्यसका लागी पहल गरेकोमा उर्जामन्त्री पुनलाई धन्यवाद व्यक्त गर्नभयो ।

उहाले नेपालमा चिनियां कम्पनीहरुले उर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

‘हामीलाई चीनमा थप उर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरुले व्यवसायीक रुपले लगानी गरिरहेका छन, आगामी दिनमा थप चिनियां कम्पनीहरुले नेपालमा लगानी गर्नेछन् ।’ उपमन्त्री लियानले भन्नुभयो ।