उर्जामन्त्रीको निर्देशनपछि प्राधिकरण सक्रिय, विद्युत चोरीको आरोपमा २८ पक्राउ

उर्जामन्त्रीको निर्देशनपछि प्राधिकरण सक्रिय, विद्युत चोरीको आरोपमा २८ पक्राउ


महोत्तरी – प्रहरीले विद्युत् चोरी गरेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको टोलीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट २८ जनालाई पक्राउ गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनिहरुलाई  सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले पक्राउ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताए । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।

तराईमा पछिल्लो समय विद्युत चुहावट बढिरहेको गुनासो आईरहेको बेला प्राधिकरणले विशेष अभियान चलाएको हो । उर्जामन्त्री बर्षमान पुनले चुहावट नियन्त्रणका लागी योजना बनाउन प्राधिकरणलाई निर्देशन दिएका थिए ।