युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान

युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान


काठमाडौं-  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गर्नुभएको छ । सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन विहिवार विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

सम्मेलन शुक्रवार र शनिवार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसंगै उर्जामन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापा समेत भ्रमण दलमा सहभागी हुनुभएको छ । 

सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै उहांले आफ्ना समकक्षी उर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिकसंग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसंग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले बताउनुभएको छ । 

सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहनेछ । उक्त सम्मेलनमा नेपालको उर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावना बारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ ।