स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र


काठमाडौँ –औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिन जुटेका हुन् । पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

“एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो ।” यो सन्देश दुबै अध्यक्षले सो सभामा दिनेछन् ।” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने ,गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक-पटक जनाउँदै आएका छन् । स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको पनि बुझाइ छ ।

दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो । ओली र दाहालले मिल्न बाँकी विषय मिलाएर समितिको बैठकमा पेश गरेपछि एकता घोषणाको मिति तय हुने भएकाले उनीहरु दैनिकजसो गम्भीर छलफल र वार्तामा व्यस्त भएका छन् । सकेसम्म यही वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता घोषणा गर्न पनि नेतृत्वलाई सुझाव दिइएको छ ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भने, “दुबै अध्यक्षले यही वैशाखभित्र एकता हुने भनेका छन् । एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।” एकताका लागि दुई पार्टीको सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषण, आगामी महाधिवेशन र नेतृत्व बाँडफाँडबारे ठोस् सहमति हुनबाँकी छ । प्रतिवेदनमा मिल्न बाँकीमध्ये निर्वाचन चिन्ह सूर्य रहनेमा अनौपचारिक सहमति भइसकेको छ । गत फागुन ७ मा बसेको संयोजन समितिको बैठकले एकताका प्रारम्भिक सात बुँदे लिखित आधार सार्वजनिक गरेपछि कार्यदल बनाइ प्रतिवेदन तयार गरिएकोे थियो । ती आधारमा पार्टीको नाम नेकपा रहने, पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनीनवाद रहने, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने मान्यता स्वीकार्दै एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइशौँ शताब्दीको जनवादका विषयमा विधिवत् छलफल गरी परिमार्जन र विकास गर्नेलगायत छन् ।

राणा शासन विरोधी आन्दोलनका समयमा विसं २००६ वैशाख १० (अप्रिल २२, १९४९) मा पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा नेकपाको स्थापना भएको थियो । निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ नेकपाका संस्थापक हुन् ।