स्थिरताको नतिजा : भारत र चीनपछि अमेरिकासँग सिधै जोडिँदैछ निकट सम्बन्ध

स्थिरताको नतिजा : भारत र चीनपछि अमेरिकासँग सिधै जोडिँदैछ निकट सम्बन्ध


काठमाडौं – नेपालमा भइरहने राजनीतिक परिवर्तन र अस्थिरताका कारण विदेशी मुलुकले दीर्घकालीन र द्विपक्षीय हीत र सम्बन्धबारे समझदारी गर्ने नेतृत्व पाउने गरेका थिएनन् । जसले गर्दा पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध अवरुद्ध हुँदै गइरहेको थियो ।

सरकार बनेको ९-१० महिनामै अर्को सरकार आउने, एउटा सम्झौताको मसी सुक्न नपाउँदै अर्को राजनीतिक नेतृत्वसँग अर्को सम्झौता गर्नुपर्ने र सम्झौताहरू दीर्घकालीन रुपमा कार्यान्वयन हुन नसक्ने समस्या अन्तर्राष्ट्रिय समुदायले भोग्दै आएको हो । तर पछिल्लो प्रतिनिधिसभाबाट कम्युनिस्ट पार्टीको उदय र संसदबाट दुईतिहाई बहुमत प्राप्त सरकारले राजनीतिक स्थिरतासहित सरकार सञ्चालन गरिरहेकाले अन्तर्राष्ट्रिय समुदाय समेत नेपालप्रति आकर्षित हुन थालेको छ ।

चीन र भारतको बिचमा अवस्थित भएकाले विश्व मानचित्रमा नेपालको महत्त्व विशेष छ । भारतसँग नेपालको निकट सम्बन्ध रहेपनि पछिल्ला केही वर्षमा चीनसँगको सम्बन्ध पनि नविकरण हुन सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त सरकार बनेपछि अहिले चीनका राष्ट्रपतिको नेपाल भ्रमणका लागि तयारी भइरहेको छ । यसबीच चीनसँग थुप्रै पूर्वाधार विकास सम्झौता भएका छन् । भारतका प्रधानमन्त्रीले पटक–पटक नेपाल भ्रमण गरिसकेका छन् ।

अब विश्वमा प्रभाव राख्ने अमेरिकाले समेत नेपाललाई महत्त्व दिँदै निकट सम्बन्ध जोड्न खोजेको देखिएको छ । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार बिहान २ बजे संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिकी विदेशमन्त्रीसँग नेपालका परराष्ट्रमन्त्रीको यो स्तरको भेटवार्ता १७ वर्षपछि हुन लागेको जनाइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पुस ३ गते नै परराष्ट्र सचिव शंकरदास बैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री र परराष्ट्र सचिवले अमेरिकामा गर्ने विभिन्न भेटवार्ताबाट द्विपक्षीय सम्बन्ध र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल हुनेछ ।

परराष्ट्रका सचिव बैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी छन् । नेपाल र अमेरिकाका उच्च प्रतिनिधिबीच विगत १७ वर्षदेखि भेटवार्ता हुन सकेको थिएन । अमेरिकी सरकारले लिखित रुपमा सम्बन्ध सुधारको प्रस्ताव गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण हुन लागेको हो । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याएर दुईतिहाई सांसदको समर्थनमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि अन्तर्राष्ट्रिय समुदायले निकट सम्बन्ध बनाउन खोजेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको अघिल्लो महिना भएको जापान भ्रमणलाई पनि नेपाल–जापानबीच सम्बन्ध सुधारका प्रयासका रुपमा हेरिएको छ । जापानसँग पनि सम्बन्ध विस्तार गर्दै सरकारले अगाडि बढ्ने समझदारी गरेको छ । अमेरिका भ्रमणबाट मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।सरकार गठन भएको छोटो समयमै अन्तर्राष्ट्रिय समुदायमा सम्बन्ध विस्तारका लागि विशेष भ्रमण भइरहेकाले पाँच वर्षको अवधिमा विकासका लागि थुप्रै सहयोग लिन सकिने विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष पनि पूरा भएको छैन ।