काठमाण्डु-युरोकप फुटबलमा समूह ‘एफ’ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ ।
जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरे ।
समूहको अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । टर्कीका लागि कप्तान हाकान चाल्हानोग्लु र चेन्क तोसुनले गोल गरे । चेक रिपब्लिकका कप्तान टोमस सुचेकले एक गोल मात्र फर्काउन सके । यो समूहमा पोर्चुगल र टर्की समान ६–६ अङ्कका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । पहिलो पटक युरोकपमा छनोट भएको जर्जिया पनि चार अङ्कका साथ अन्तिम १६ मा प्रवेश गरेको छ । एक अङ्क जोडेको चेक रिपब्लिक बाहिरिएको छ ।
यस्तै समूह ‘ई’ को अन्तिम चरणको खेलमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेलेका छन् । यही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १–१ गोलको को बराबरी खेले । योसँगै यस समूहका चारवटै टोलीको समान चार अङ्क भएको छ ।
गोल अन्तरका आधारमा रोमानिया समूह विजेता र बेल्जियम उपविजेता हुँदै अन्तिम १६ मा पुगेका छन् । स्लोभाकिया तेस्रो हुँदा युक्रेन पुछारमा रहेर समूह चरणबाट बाहिरिएको छ । योसँगै युरोकप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै पर्सि शनिबारदेखि अन्तिम १६ मा पुग्ने टोलीबीचको खेल शुरु हुनेछ ।
प्रतिक्रिया