युरोकप फुटबल : आज दुई खेल हुँदै

युरोकप फुटबल : आज दुई खेल हुँदै


काठमाण्डु – युरोकप फुटबलमा आज दुई खेल हुँदैछ । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आज राति दुई खेलहरु हुन लागेको हो । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेल राति ९ : ४५ मा सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अङ्क जोडेको थियो ।

चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो ।

यस्तै आज हुने अर्को खेल स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीच हुनेछ । यी दुई टोलीबीचको खेल राती १२ : ४५ मा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ ।