यी हुन् विश्वकै महँगा कार

यी हुन् विश्वकै महँगा कार


रोल्स रोयको ‘स्वेपटेल’
रोल्स रोयले एउटा यस्तो कार निर्माण र्गयो जुन विश्वकै सर्वा्धिक महँगो बन्यो । रोल्स रोयको ‘स्वेपटेल’ कार विश्वको सबैभन्दा महँगो कार हो । यो कारको मूल्य कम्पनीले एक करोड ३० लाख अमेरिकी डलर तोकेको थियो । यो कार बजारमा उपलब्ध छैन । कुनै एक सौखिन ग्राहकको आग्रहमा कम्पनीले प्रिमियम कार निर्माण गरिदिएको थियो । कम्पनीले ग्राहकको नाम खुलाएको छैन ।

रोल्स रोयले रोलआर्ट लग्जरी कार उत्पादन गर्छ । कम्पनीले सन् २०१६ मा चार हजार कार उत्पादन गरेको थियो । सोही समयमै महँगो लक्जरी स्वेपटेल कार बनाएको उल्लेख छ । यो कार कुनै रोयल परिवारका लागि निर्माण गरेको हुनसक्ने अनुमान छ । कारमा दुईवटा सिटमात्र भएकाले राजपरिवारका दुईजना बस्नका लागि बनाइएको हुन सक्ने अनुमान गरिएको हो ।

कारको छत पूर्ण रूपमा प्यानारोमिक रहेको छ । कारको प्रत्यक ढोकाको भित्री भागमा काठ र लेदरले बनेका ल्यापटप होल्डिङ छ । यो कार २०औं सताब्दीको मोडलजस्तै देखिन्छ । यो कारको मालिक पुराना कार र प्लेन संकलन गर्न सौखिन पनि हुनसक्ने अनुमान छ ।
कोनिक्सेग सीसीएक्सआर ट्रेभिटा

विश्वकै महँगो कारको सूचीमा दोस्रो नम्बरमा आउँछ, कोनिक्सेग सीसीएक्सआर ट्रेभिटा । यो कारको मूल्य ४० लाख ८० हजार अमेरिकी डलर छ । यो कारमा हिरा जडान गरिएको छ । कारमा चमक ल्याउनका लागि प्रयोग गरिँदै आएको कार्बन फाइबरलाई विस्थापित गरेर यो कारलाई चम्काउन हिरा प्रयोग गरेको कम्पनीले जनाएको छ ।

यो कार डिजाइनमा पनि उत्कृष्ट छ । कारको डिजाइन विश्वमै सर्वा्धिक रुचाइएको छ । कारमा प्रयोग भएको ४.८ लिटरको इन्जिन जडान गरिएको छ । यो कारमा ड्युल कार्बन रियर विङ, एयरब्याग, एबीएस कार्बन सेरामिक ब्रेक, प्याडल–सिफ्ट, इन्फोटेन्मेन्ट सिस्टमलगायत सुविधा छन् । कम्पनीका अनुसार यो कार कार्बन फाइबरमा आधारित भएर निर्माण गरिने हुनाले कार पूर्ण रूपमा तयार पार्न समय लाग्छ । यसैले यो मोडलमा जम्मा दुईवटा कारमात्र उत्पादन भएको कम्पनीले जनाएको खबर आजको अन्नपुर्णपोस्टमा खबर छ ।

ल्याम्बोरघिनी भेनेनो रोडस्टर

इटालियन प्रिमियम कार निर्माता कम्पनी ल्यामबोरघिनी विश्वकै महँगा र तीव्र गतिका कार निर्माण गर्न प्रख्यात मानिन्छ । ल्याम्बोरघिनीको भेनेनो रोडस्टर विश्वको तेस्रो महँगो कारमा पर्छ । यसको मूल्य ४.५ मिलियन अमेरिकी डलर छ । कम्पनीले ५०औं वर्ष पूरा गरेको अवसरमा रोडस्टर निर्माण गरेको हो । स्पेनमा ‘भेनेनो’ शाब्दिक अर्थ ‘विष’ हो । शाब्दिक अर्थजस्तै यो कारको बनावट पनि घातक रहेको छ ।

यो कारको बनावट एलियन स्पेस क्याप्सुलजस्तै छ । कारमा ६.५ लिटर भी१२ सेभेन–स्पिड सिंगल क्लच आईएआर अटोमेटेड म्यान्युएल ट्रान्समिसन इन्जिन छ । आठ हजार चार सय आरपीएममार्फत कारले सात सय ४० हर्सपावर र ५०७ पाउन्ड–फिट टर्क उत्सर्जन गर्छ । कारले २.९ सेकेन्डमा ६० माइल प्रतिघण्टाको गति समात्न सक्ने कम्पनीको दाबी छ । यो कारको मोनोक्यू एलपी ७००–४ एभेन्टाडोरबाट प्रभावित भएर निर्माण गरिएको हो, जनु कार्बन फाइबरबाट बनेको छ । यो कार फुल अलह्विल–ड्राइभ सिस्टममा आधारित छ । यो कार अहिलेसम्म जम्मा नौवटा निर्माण गरिएका छन् । यो कारको मुख्य समस्या डिलरहरू हुन् । यो कार बिक्रेताले एक करोड १० लाख अमेरिकी डलरमा बिक्री गर्छन् ।

म्याकलरेन पी१ एलएम

म्याकलरेन्स पी१ एलएम विश्वका सबैभन्दा महँगो कारको सूचीमा चौथो स्थानमा छ । यसको मूल्य ३० लाख ६० हजार अमेरिकी डलर छ । यो कारलाई म्याकलरेन पी१ जीटीआरको विकसित मोडलका रूपमा लिइएको छ । ब्रिटिस फार्म ल्याजान्टेले यो कार निर्माण गरेको हो । उक्त फार्मले म्याकलरेनले निर्माण गरेको पुरानो कार म्याकलरेन पी१ जीटीआरलाई किनेर त्यसैमा आधारित भएर म्याकलरेन पी१ एलएमको निर्माण गरेको बताइएको छ ।

यो कार अमेरिका, जापान, युके, युएई लगाएत देशका सेलेक्टेड ग्राहकलाई लक्षित गरेर निर्माण गरिएको हो । यो कारमा म्याकलरेन पी१ जीटीआर र लेजेन्ड्री कार म्याकलरेन एफवान रोड कारसँग धेरै कुरा मिल्छ । यो कारमा सुनले वरिपरी घेरा लगाइएको छ । कारमा ३.८ लिटरको टुइन–टर्बो भी–८ इन्जिन प्रयोग गरिएको छ । यो कारले हजार हर्सपावर कार्बन उत्सर्जन गर्छ । कम्पनीले अहिलेसम्म यो कार पाँचवटामात्र निर्माण गरेको छ । र, निर्माण गरिएका सबै कार बिक्रीसमेत भइसकेका छन् ।

ल्याकन हाइपरस्पोर्ट

विश्वका सबैभन्दा महँगो कारको सूचीमा ल्याकन हाइपरस्पोर्ट कार पर्छ । यो कारको मूल्य ३० लाख ४० हजार अमेरिकी डलर रहेको छ । यो कारको हेडलाइट यूआरएम २४० १५–क्यारेटको हिराबाट बनाइएको छ । साथै, कारलाई आकर्षक बनाउन राखिएको एलईडी ब्लेड्स पनि २४० १५–क्यारेटको हिराबाटै बनाएको कम्पनीले जनाएको छ । आर्मीको गाडीमा प्रयोग गरिने आरमोरेड प्रयोग गरिए झैं देखिने कारको ढोका कैंचीको आकारमा खुल्छ ।

कारको भित्री डिजाइन कुनै साइन्टिफिक मूभिमा भएजस्तै देखिन्छ । यो कारलाई कम्पनीले पहिलो पटक हलिउड चलचित्र ‘फ्युरियस ७’ मा प्रयोगमा ल्याएको थियो । डब्लू मोटर्सले लेबनानमा निर्माण गरेको यो कार अरबकै पहिलो सुपर कार पनि हो । कारको डिजाइन आकर्षक छ । यो कारमा ३.८ लिटरको इन्जिन प्रयोग गरिएको छ । कारको अधिकतम गति २४० माइल प्रतिघन्टा छ ।