काठमाडौं – अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतकाका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न भनेको हो । गत सोमबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरेको थियो ।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो । राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए ।
विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमती लिनुपर्छ । उनीहरुले कसैले पनि मेडिकल काउन्सिलबाट अनुमती लिएका छैनन् । ठगी मुद्धामा अनुसन्धान गर्नको लागि उनीहरुको म्याद थप गरिएको बताइएको छ ।
प्रतिक्रिया